धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले २ सय १९ किलो गाँजा सहित दुई जना पक्राउ गरेको छ । बेनीघाट रोराङ गाउँपालिका–९ खटौतीबाट अवैध लागूऔषध गाँजा करिब २ सय १९ किलो २१ ग्राम सहित २ जनालाई आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख भेषराज रिजालले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका–४ बस्ने २८ वर्षीय दिननाथ यादब र कालिकामाई गाउँपालिका–१ बस्ने ५३ वर्षीय कमल राउत कुर्मी रहेका छन् । प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले बिआर ०१ जिबि ८६५३ नम्बरको मिनिट्रकलाई जाँच गर्ने क्रममा क्याबिन पछाडि ढालामा फल्स बटन बनाई ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको एसपी रिजालले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।
