काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनमाथि पनि सुन तस्करी प्रकरणमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । यही प्रकरणमा पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ । उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
सुन तस्करी प्रकरणमा रोल्पाको राङ्सी घर भएका पूर्वउपराष्ट्रपति पुन पनि विवादमा मुछिएकाले उनीमाथि पनि अनुसन्धान अघि बढाइएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए ।दुई वर्षअघि उनका जेठा छोरा जितेन्द्रले शक्तिको दुरुपयोग गरी हुम्लाबासी भएको कागजात बनाई सीमा वारपार गर्ने परिचयपत्र गृह मन्त्रालयबाट बनाएका थिए ।
त्यसपछि हुम्ला र चीनको सीमा क्षेत्र ताक्लाकोट पुगेर चिनियाँ टोलीसँग ‘तमसुक गरेर चार किलो सुन बुझेको’ समाचार सार्वजनिक भएको थियो । सुनको भुक्तानीबाफतको सावाँ–ब्याजको रकम चिनियाँ पक्षलाई नदिएपछि यो प्रकरण बाहिरिएको थियो ।
२०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन र २०८० सालमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी प्रकरणमा दिपेश मुछिएका छन् । सुन तस्करी प्रकरणमा गठन गरिएको जाँचबुझ आयोगले दीपेशको संलग्नता किटान गर्दै थप अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको थियो ।
