महोत्तरी । यौनधन्दा सञ्चालन गरेको आरोपमा होटल सञ्चालिका सहित चारजना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको जलेश्वरस्थित एक होटलमा छापा मारी प्रहरीले यौनधन्दामा संलग्न होटल सञ्चालिका र भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको जनाएको छ ।
जलेश्वर नगरपालिका वडा नं. २, मटिहानी चोक नजिकै सञ्चालित कोइराला होटल तथा लजमा महिलाहरूलाई प्रलोभनमा पारी जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार दिउँसो छापा मारेको थियो । प्रहरी टोलीले होटलको खानतलासी गर्दा पहिलो र दोस्रो तलाका कोठाहरूमा दुई पीडित महिला र दुई भारतीय पुरुषलाई आपत्तिजनक अवस्थामा फेला पारेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा भारतको मधवापुरका २८ वर्षीय र मधुवनीका ३६ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ । त्यस्तै, जलेश्वर–२ का ६० वर्षीय पुरुष र ४५ वर्षीया होटल सञ्चालिकालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिए ।
