After header

ग्यास अभाव र कालोबजारीप्रति रास्वपा काभ्रेको प्रशासनको ध्यानाकर्षण

काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलाञ्चोकले जिल्लामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव तथा कालोबजारीप्रति जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको गम्भीर ध्यानाकर्षण गराएको छ ।वर्तमान विषम परिस्थितिको मौका छोपेर ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाउने तथा तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने गतिविधि हुनसक्ने भन्दै रास्वपाले तत्काल प्रभावकारी अनुगमन र आवश्यक कारबाही गर्न प्रशासनसमक्ष आग्रह गरेको छ ।

रास्वपा काभ्रेपलाञ्चोकका जिल्ला सभापति प्रविणकुमार ढकालले ग्यासजस्तो अत्यावश्यक वस्तुमा अभाव देखिनु सामान्य विषय नभएको बताउँदै उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन प्रशासन जिम्मेवार बन्नुपर्ने बताए । उनले बजारमा ग्यासको वास्तविक अवस्था, आपूर्ति प्रणाली, विक्रेताले राखेको मौज्दात तथा बिक्री वितरण प्रक्रियाको प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिए । कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई दुःख दिने र बढी मूल्य असुल्ने प्रवृत्ति देखिएमा तत्काल कारबाही हुनुपर्ने उनको भनाइ छ ।

“अत्यावश्यक वस्तुको अभाव देखाएर उपभोक्तालाई दुःख दिने अवस्था आउनु हुँदैन । ग्यास कहाँ रोकिएको छ, किन अभाव देखिएको छ र बजारमा कस्तो मूल्यमा बिक्री भइरहेको छ भन्ने विषयमा प्रशासनले स्पष्ट रूपमा अनुगमन गर्नुपर्छ,” सभापति ढकालले भने ।

रास्वपाले प्रशासनसँग ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई नियमित बनाउन, व्यवसायीले लुकाएर राखेको मौज्दात भए त्यसको खोजी गर्न तथा कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कानुनी कारबाही गर्न समेत माग गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनि जिल्लामा ग्यासको आपूर्ति तथा बजार अवस्थाबारे आवश्यक निगरानी भइरहेको बताएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेका अनुसार अत्यावश्यक वस्तुको अभाव तथा कालोबजारी सम्बन्धी गुनासोलाई प्रशासनले गम्भीर रूपमा लिएको बताईन् । बजारमा वास्तविक रूपमा ग्यासको अभाव हो वा आपूर्ति तथा वितरणमा समस्या भएको हो भन्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक अनुगमन गरिने उनको भनाई थियो ।

उनले उपभोक्ताले ग्यास खरिद गर्दा तोकिएको मूल्यभन्दा बढी रकम तिर्न बाध्य हुन नपरोस् भन्ने विषयमा प्रशासनको ध्यान रहेको बताउँदै कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरेको प्रमाण भेटिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने समेत पाण्डेले जानकारी दिईन् ।

ग्यासको अभावका कारण जिल्लाका विभिन्न बजार क्षेत्रमा उपभोक्ताले लामो समयसम्म लाइन बस्नुपर्ने तथा सहज रूपमा ग्यास नपाउने समस्या देखिएको गुनासो बढ्दै गएको छ । यस्तो अवस्थामा ग्यासको आपूर्ति नियमित बनाउनुका साथै विक्रेता तथा वितरकको मौज्दात र बिक्री वितरण प्रक्रियाको पारदर्शी अनुगमन आवश्यक देखिएको छ ।उपभोक्ताले पनि ग्यासको अभावलाई अवसर बनाएर हुने सम्भावित कालोबजारी, बढी मूल्य असुली तथा कृत्रिम अभावविरुद्ध सम्बन्धित निकायमा तत्काल जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ ।

एक पटक पढ्नुहोस