काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव चुलिँदै उपभोक्ता समस्यामा परिरहेका बेला सांसद मधुकुमार चौलागाईंले सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन् । उनले ग्यासको हाहाकार हुँदा जनताका बीचमा जान र बजारमा मुख देखाउनसमेत अप्ठ्यारो अवस्था सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘जनताले ग्यास पाएका छैनन्, बजारमा ग्यासको हाहाकार छ । यस्तो अवस्थामा हामी जनप्रतिनिधिले बजारमा कसरी मुख देखाउने ? सरकार के हेरेर बसेको छ ?’ सांसद चौलागाईंले प्रश्न गरे ।ग्यास अभावका कारण सर्वसाधारणले लामो समयदेखि समस्या भोगिरहेको अवस्थामा सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ थियो ।
बजारमा वास्तविक अभाव हो वा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको हो भन्ने विषयमा समेत सरकारले गम्भीरतापूर्वक अनुगमन गर्नुपर्ने चौलागाईंले बताए ।यसैबीच, गृहमन्त्री सुधन गुरुङसहित आठ जना मन्त्रीको उपस्थितिमा सम्पन्न एक कार्यक्रममा विवादित धर्मगुरु विजय कृष्णमूर्ति र श्रीनिवास आचार्यलाई सहभागी गराइएको विषयले पनि आलोचना बढाएको छ ।
उक्त कार्यक्रममा विवादित व्यक्तिहरूलाई सहभागी गराइएकोप्रति विभिन्न क्षेत्रबाट प्रश्न उठिरहेका बेला सांसद चौलागाईंले पनि सोही विषयमा सरकार र आयोजकप्रति प्रश्न उठाएका छन ।जनताका दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्या समाधानमा सरकार केन्द्रित हुनुपर्नेमा विवादास्पद विषयले प्राथमिकता पाउनु दुःखद भएको उनको भनाइ छ ।
ग्यासजस्तो अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्नु सरकारको पहिलो दायित्व भएको भन्दै उनले तत्काल बजार अनुगमन, आपूर्ति व्यवस्थापन र कालोबजारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न माग गरेका छन् ।ग्यास अभावका कारण सर्वसाधारण घण्टौँसम्म लाइन बस्नुपर्ने, महँगो मूल्यमा ग्यास खोज्नुपर्ने तथा दैनिक खाना पकाउने व्यवस्थामै समस्या उत्पन्न हुन थालेपछि सरकारको आपूर्ति व्यवस्थापनप्रति प्रश्न उठ्न थालेका छन् ।
