बलिहूड फिल्महरुको पत्तासाफ

अहिले भारतमा कमै मात्र चलचित्र फ्लप हुने गरेका छन् । मामुली कलाकारहरुका फिल्मले पनि सय करोड कमाउन थालेका छन् ।
तर, गत शुक्रबार रिलिज भएका तीन फिल्मको भने कन्तविजोक भएको छ । यी तीन फिल्म हुन् ‘फन्ने खाँ’, ‘मुल्क’ र ‘कारवा’ ।

ऐश्वर्या राय र अनिल कपुरको उपस्थितिका कारण फन्ने खाँले राम्रै ओपनिङ गर्ने अपेक्षा गरिएको थियो । तर, फिल्मले पहिलो दिन २ करोड र दोस्रो दिन शनिबार दुई करोड ५० लाख मात्र कमाई गरेको छ । ३० करोडमा बनेको फिल्मले लगानी उठाउन नसक्ने लगभग निश्चित छ । यो फिल्मको असफलताले खासगरी ऐश्वर्या रायलाई धक्का लाग्नेछ ।

हाल क्यान्सर रोगको उपचार गराइरहेका अभिनेता इरफान खानको फिल्म ‘कारवा’ झनै दयनीय अवस्थामा रहेको छ । यसले पहिलो दिन एक करोड ५० लाख र दोस्रो दिन २ करोड ५० लाख मात्र कमाएको छ । इरफानप्रति सहानूभूतिले दर्शकहरु हलसम्म आउलान् कि भन्ने ठानिएको थियो, तर त्यस्तो भएन ।

यसैगरी ऋषि कपुरको प्रमुख भूमिका रहेको फिल्म ‘मुल्क’ ले पनि कुनै चमत्कार गर्न सकेन । यसले पनि दुई दिनमा चार करोडको आसपासमै कमाई गरेको छ । बरु यसअघि प्रदर्शित ईशान खट्टर र जान्भी कपुर अभिनित फिल्म ‘धडक’ ले भने आफ्नो लगानी सुरक्षित गर्न सफल भएको छ ।

एक पटक पढ्नुहोस