कस्ता छन् गुन्द्रुकको फाइदा?

‘ढिडों र गुन्द्रुक’ । यस्तो लाग्छ, यी एकअर्काका परिपूरक हुन् । लोग्ने-स्वास्नी जस्तै । जब गुन्द्रुकको कुरा आउँछ, ढिडोंको तलतल लाग्छ । जब ढिडोंको प्रसंग आउँछ, गुन्द्रुकको याद आउँछ ।

ढिडों-गुन्द्रुक, जसलाई हामी हाम्रो रैथानी परिकार पनि भन्छौं । कुनैबेला यो दुखको छाक टार्ने मेलो थियो । ढिडों र गुन्द्रुक भन्नसाथ अभावको बेला भोको पेट भर्ने खान्की मानिन्थ्यो । यसको अर्थ के भने, यी खान्की केवल पेट भर्नका लागि मात्र हो ।

अहिलेको अवस्था फरक छ । त्यही ढिडों गुन्द्रुकले शहरिय पुस्तामा प्रवेश गरेको छ । अहिले ढिडों गुन्द्रुक खोजी-खोजी खाइन्छ । अवस्था कस्तो छ भने, ढिडों गुन्द्रुकको स्वाद मेट्नका लागि अब गाउँपाखा होइन, शहरका उत्कृष्ट रेष्टुरेन्ट चाहर्नुपर्ने ।

अर्थात ढिडो र गुन्द्रुक फरक परिकारको रुपमा ब्रान्डिङ भएको छ । तिख्खर रैथाने स्वाद खोज्नेका लागि यो खान्की सर्वोत्तम विकल्प हो ।

यी त भए स्वादका कुरा । के यस्ता खान्कीमा कति पोषक तत्व पाइन्छ ?

अहिले पोषणयुक्त खानेकुरा खानुपर्छ भन्ने चेत बढेको छ । सन्तुलित भोजनको तालिका अनुसार खाना खाने गरिन्छ । यस्तो अवस्थामा सागलाई उसिनेर, बफ्याएर, सुकाएर तयार गरिएको गुन्द्रुक के वास्तवमै खान लायक हो ? प्रश्न स्वभाविक रुपमा उठ्छ ।

ढिडोंको कुरा छाडौं । गुन्द्रुकको कुरा गरौं ।

विश्वमा नेपालको चिनारी दिने परिकार हो, गुन्द्रुक । तिब्बत, भुटान, सिक्किम, दार्जलिङमा पनि गुन्द्रुकको प्रचलन भने छ । गुन्द्रुक नेपालको ग्रामीण भेगदेखि तारे होटलसम्म प्रख्यात छ । यो विदेशीले पनि अत्यन्तै पन पराउने परिकार हो ।

गुन्द्रुकमा ४८ प्रतिशत कार्बोहाइडेट, ४९ प्रतिशत प्रोटिन र ३ प्रतिशत चिल्लो पदर्थ हुने गर्छ । यो छोटो समयमै तयार गर्न सकिने स्वादिष्ट परिकार हो:

यसरी तयार गर्नुस्

– गुन्द्रुक तयार पार्दा पहिला रायो, तोरी, मुला या काउलीको सागलाई हल्का घाममा सुकाउनुपर्छ ।

– त्यसपछि काठ, धुङगा या फलामको ओखलमा कुटेर कुनै डिब्बा या पलास्टिकमा खाँदेर हावा नछिर्ने गरी बन्द गर्नुपर्छ । त्यसपछि घाम लाग्ने ठाउँमा राख्नुपर्छ ।

– विहानको समय दैनिक रुपमा मनतातो अर्थात ३० डिग्री तापक्रमको पानी त्यसमाथि हाल्नुपर्छ र फेरि छोपेर राख्ने गर्नुपर्छ ।
– १० देखी १२ दिनसम्ममा साग बिस्तारै अमिलो हुँदै जाने गर्छ । त्यसपछि फेरि डिब्बा वा प्लास्टिकलाई खोलेर केही दिन घाममा सुकाउनुपर्छ । घाममा सुकेर झुरुम-झुरुम भएपछि गुन्द्रुक तयार हुन्छ ।

– यसरी तयार भएको गुन्द्रुकलाई सुरक्षित तरिकाले ‘एअर टाइड’ भाँडामा राख्न सकिन्छ । र, चाहेको अवस्थामा विभिन्न परिकार तयार पारी सेवन गर्न किन्छ ।

गुन्द्रुकका परिकार

– सामान्यतया गुन्द्रुकलाई झोलको रुपमा प्रयोग गर्ने प्रचलन छ । तर, यसलाई अरु पनि स्वादिष्ट परिकारको रुपमा तयार पारि सेवन गर्न सकिन्छ ।

– तारे होटलमा गुन्द्रुकको झोलमा भटमास राखेर स्वादिस्ट रुपमा तयार पारिन्छ र यसलाई हिमालय सुपको रुपमा प्रयोग गरिन्छ ।

– मस्यौरा, सिन्की, माछाको ग्रेभी बनाउदा पनि यो निकै स्वादिष्ट हुन्छ ।

– कागती, टिमुर, नुन, खुर्सानी, भुटेको भटमास, धनीया, भुटेको तोरिको तेल राखि गुन्द्रुकलाई साँधेर पनि खान सकिन्छ । यसरी तयार पारेको परिकारलाई कोदो, फापरको रोटी वा नेवारी मासको बारासँग खादा पनि निकै स्वादिष्ट हुन्छ ।
– थकाली थाली सेटमा पनि गुन्द्रुकको अचारलाई अनिवार्य परिकारको रुपमा राखिएको छ ।

मेडिकल फाइदा

– आँखाको भिजनका लागि गुन्द्रुक अति उपयोगी मानिन्छ । यसले आँखा चिलाउने, दुख्ने, सुख्खा हुने समस्यालाई कम गर्दै लैजान्छ । गुन्द्रुकले आँखामा हुने अल्सरको सम्भावनालाई पनि कम गर्छ ।

-गुन्द्रुक नियमित सेवन गर्दा तौल घटाउनमा मद्दत पुग्छ । यसले क्यान्सको सम्भावनालाईसमेत दुर गर्ने काम गर्छ ।

– ग्याष्ट्रिक र अल्सर भएका बिरामीले पनि सादा गुन्द्रुकले फाइदा पुर्‍याउँछ । गुन्द्रुकमा खनिज पदार्थका मात्रा प्रशस्त हुन्छ ।
– स्मरणशक्ति कम हुनेहरुले रायोको गुन्द्रुक सेवन गर्दा राम्रो हुन्छ । किनकी यसले स्मरणशक्ति बढाउनको लागि पनि सहयोग पुर्‍याउँछ ।

– अधिक कोलस्ट्रोलको समस्या छ भने पनि त्यसलाई कम गर्नका लागि रायोको गुन्द्रुक सेवन गर्न सकिन्छ । यसले कोलेस्ट्रोल घटाउनको लागि भूमिका खेल्छ ।

– शरीरका हड्डी मजबुत बनाउनको लागि पनि गुन्द्रुक सेवन गर्दा हुनछ ।

– गुन्द्रुक जाडो मौसममा लोकप्रिय छ । यसको मेडिकल कारण पनि छ । यसले कोल्ड लुबाट बचाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

एक पटक पढ्नुहोस