बच्चा कस्तो हुनुपर्छ ?

तपाईको घरमा बच्चा छन् ? कति बर्षका ?

दुई, तीन, चार, पाँच, छ । तपाई यी बच्चाहरुबाट के कुरामा हैरान हुनुहुन्छ ?

खाना ख्वाउन ? दिसा-पिसाब गराउन ? सुताउन ? खेलाउन ?

धेरैको जवाफ आउनसक्छ, ‘होइन, जति गरेपनि बच्चाले सरसामान लथालिंग बनाइदिन्छ । छरपस्ट बनाइदिन्छ ।’

हो त, यस उमेरका बच्चा चञ्चल हुन्छन् । उनीहरु जे देख्यो, त्यही छुन खोज्छन् । चलाउन खोज्छन् । खान खोज्छन् । तपाई चाहनुहुन्छ, ‘घरका सबै सामान व्यवस्थित होस् । सफाचट होस् । मिलेका होस् । जे-जहाँ छ, खोजेको बखत तुरुन्तै पाइयोस् ।’

तर, बच्चाले सबै कुरा भताभुंग बनाइदिन्छन् । सोफामा सजाइएका कुशनहरु यत्रतत्र बनाइदिन्छन् । भासमा सजाइएको फूल तानिदिन्छ । एक्विरियमको माछा चलाइदिन्छ । गोलभेडा झिकेर बल खेल्छ । भाडावर्तन छरिदिन्छ । टुथपेस्टको पेस्ट जथाभावी दलिदिन्छ । भर्खरै मिलाएको ओछ्यान लथालिंग बनाइदिन्छ ।

यस्तोबेला तपाई के गर्नुहुन्छ ?

बच्चाले बिगारेको काम मिलाउनुहुन्छ ? बच्चालाई चेतावनी दिनुहुन्छ ? बच्चालाई कुटपिट गर्नुहुन्छ ? वा पुरै बेवास्ता गरिदिनुहुन्छ ?

एकातिर काम मिलाइसक्दा अर्कोतिर काम बिगारिसकेको हुन्छ । तपाईलाई रिस उठ्न सक्छ । दिक्क लाग्नसक्छ । झर्को लाग्नसक्छ । बच्चा सम्हाल्ने कि घर ? द्विविधा पैदा हुनसक्छ ।

आमाबुवा भर्सेस बच्चा

अक्सर आमाबुवा चाहन्छन्, घर सुकिलो-मुकिलो होस् । सबै सामाग्री व्यवस्थित होस् । बच्चाले कुनैपनि सामाग्री चलाउने, खेलाउने, फुटाउने, बिगार्ने नगरोस् । तर, घरमा बच्चा भइसकेपछि यी सबै कुरा सहनुपर्छ । साथसाथै बच्चालाई यी कुराहरुमा नियन्त्रण गर्नु हुँदैन ।

तपाईलाई सोच्दै हुनुहुन्छ होला, ‘के त्यसो भए सबैकुरा गर्न छाडिदिने ?’

हो, बच्चाले जे गर्छन्, जसरी गर्छन् उनकै मर्जी अनुसार गर्न दिनुपर्छ । यसको अर्थ हो कि, तपाईले बच्चालाई नियन्त्रण गर्नु आवश्यक छैन । आवश्यक छैन मात्र होइन, गर्दै नगर्नुहोस् । किनभने बच्चाले जे-जे गरिरहेका छन्, त्यो उसले काम बिगारेको होइन । उसले घर फोहोर बनाएको पनि होइन । उसले बदमासी गरेको होइन । बुझ्नुपर्ने कुरा यो हो ।

बच्चाले बिगारेका होइनन्, खेलेका

बच्चाले जानेर कुनैपनि कुरा बिगारेको होइन । यो उनको बालशुलभ चञ्चलता हो । यो उमेरमा उनीहरु हरेक कुरा जान्न, बुझ्न उत्सुक हुन्छन् । त्यही उत्सुकताले डोहोर्‍याउँदै कहिले पानीको जग तान्न लगाउँछ, कहिले भाडावर्तन पछार्न लगाउँछ, कहिले पुस्तकहरु च्यात्न लगाउँछ ।

उसलाई थाहा हुँदैन कि, ‘म बदमास हुँदैछु । मैले गर्न नहुने काम गर्दैछु ।’

उसलाई के पनि थाहा हुँदैन भने, ‘मैले गरेको कामले घर फोहोर हुँदैछ । यसलाई व्यवस्थापन गर्न आमाबुवालाई दुख हुन्छ ।’

उनीहरुलाई त्यतीमात्र थाहा हुन्छ, ‘यी खेल्ने कुरा हुन् ।’

उनीहरुमा अथाह जिज्ञासा हुन्छ, चासो हुन्छ । हरेक कुरा वा वस्तुमाथि उनीहरुको प्रश्न हुन्छ । उत्सुकता हुन्छ । त्यही जिज्ञासा, चासो, उत्सुकता मेट्नका लागि उनीहरुले आफुले भेटेजति सामाग्री खेलाउने, तान्ने, बिगार्ने गर्छन् । हामी उनीहरुको मनोभाव बुझ्दैनौ । भन्छौं, ‘साह्रै चकचके छ मेरो बच्चा । सबै कुरा लथालिंग बनाइदिन्छ ।’

कति आमाबुवा बच्चाको यस्तो कामबाट आजित हुन्छन् । उनीहरु बच्चालाई यस्तो काम गर्न नदिन तर्साउने गर्छन् । हप्काउने गर्छन् । कुटपिट गर्ने गर्छन् । यसरी कुटपिट गरेपछि जब बच्चा शान्त हुन्छन् । डराउँछन् । घरको सामाग्री आफुखुसी चलाउँदैनन् । आमाबुवा मख्ख पर्छन् । उनीहरु भन्छन्, ‘मेरो बच्चा त साह्रै ज्ञानी छ । केही बिगार गर्दैनन् ।’

प्रश्नहरुका भोका हुन्छन् बच्चा

आमाबुवाको मनोविज्ञान के बुझिन्छ भने, बालबच्चाले आमाबुवाको मर्जी अनुसार चल्नुपर्छ । यसरी आमाबुवाले भने अनुसार काम गर्ने, बस्ने, खेल्ने बच्चा ज्ञानी हुन् ।

तर, यहाँ आइपुगेपछि हेक्का राख्नुपर्ने कुरा के भने, बच्चाको प्रकृति नै खेल्ने हो । देखेको, भेटेको कुरा छुने हो । चलाउने हो । तान्ने, फुटाउने, फ्याक्ने हो । यी सबै कुरा उनीहरुले यसकारण गरिरहेका हुन्छन् कि, कुनैपनि बस्तु छुँदा कस्तो हुन्छ ? यसभित्र के होला ? यसलाई फुटाउँदो के देखिन्छ ? यसलाई च्यातेर के हुन्छ ?

वास्तवमा यिनै जिज्ञासाहरुले उनीहरुको वौद्धिक क्षमता विकास गर्छ । तर, बुवाआमाले उनीहरुलाई कुनै रोकटोक गर्नुहुन्न । हामी ठान्छौं, बच्चाले विद्यालयमा पुगेपछि वा कक्षाकोठाभित्र पुगेपछि मात्र ज्ञान आर्जन गर्छन् । नयाँ कुरा सिक्छन् ।

तर, यो सिकाईको सिलसिला बच्चा जन्मिए लगत्तै सुरु हुन्छ । उनीहरुले स्तनपान गर्ने क्रमबाटै नयाँ कुरामा चासो राख्न थाल्छन् । नयाँ कुरा जान्ने उत्सुकता देखाउन थाल्छन् । र, बाल्यकालमा जे जति कुरा सिक्छन्, त्यो दिगो र प्रभावकारी पनि हुन्छ ।

खेल-खेलमा जीवनोपयोगी ज्ञान

बाल्यकालमा बच्चाहरुले सिक्ने भनेकै खेलेर हो । उनीहरु खेल्छन्, रमाउँछन् । यस क्रममा नयाँ नयाँ कुरा थाहा पाउँछन् । आगोले पोल्छ, पानीले भिजिन्छ भन्ने जस्ता यावत् कुरा उनीहरुले सिक्दै जान्छन् । र, जतिधेरै उनीहरुलाई खेल्ने, रमाउने अनुकुलता मिल्छ, उत्तिनै उनीहरुमा ज्ञान आर्जन हुन्छ ।

यही बेला हामीले उनीहरुलाई स्वतन्त्र एवं स्वच्छन्द ढंगले खेल्न दियौं भने उनीहरुमा प्रश्न गर्ने बानीको विकास हुन्छ । हरेक मानिसलाई पूर्ण बनाउने भनेको प्रश्नले हो । बच्चामा जति धेरै प्रश्न पैदा हुन्छ, उनीहरु उत्तिनै जान्ने हुन्छन् । बुझ्ने हुन्छन् ।

जान्ने-बुझ्ने हुनु भनेको ज्ञान भण्डार बढाउनु हो । ज्ञान भण्डार बढाउनु भनेको शक्ति संचय गर्नु हो । बौद्धिक शक्ति । यहि शक्तिले हो, आकाशमा गह्रौं जहाज उडेको । यहि शक्तिले हो, मंगल ग्रहमा मानव निर्मित यान पुगेको ।

बच्चालाई खुला हुन दिनुपर्छ । खेल्न दिनुपर्छ । उनीहरुलाई ‘ज्ञानी’ बनाउने चक्करमा कुटपिट गर्ने, हप्काउने, दप्काउने होइन । यदि बच्चा चुपचाप बस्छन् । केही चलाउँदैनन् । आमाबुवाले नभनेसम्म केही गर्दैनन् भने समस्या हो त्यो । यस्ता बच्चालाई हामी ‘ज्ञानी’ भन्छौं । तर, बच्चा हामीले सोचेजस्तो ज्ञानी होइन, चकचके हुन दिनुपर्छ ।

चकचके होइन सक्रिय बच्चा

जति धेरै बच्चाले चकचक गर्छन्, त्यसले उनीहरुको मानसिक र शारीरिक दुबै विकास हुन्छ । चकचक गरिरहँदा उनीहरुको मनमा जिज्ञासा पैदा हुन्छ । जिज्ञासा मेटिन्छ । फेरी नयाँ कुरा गर्ने सोंच पलाउँछ । एवं तरिकाले उनीहरुको मस्तिष्क क्रियशिल हुन्छन् । त्यसैगरी चकचक गरिरहँदा बच्चाको शारीरिक क्रिया पनि धेरै हुन्छ । यसले उनीहरुको समूचित विकास हुनपुग्छ ।

अब यहाँ आइपुगेपछि तपाईमा प्रश्न पैदा हुनसक्छ, ‘त्यसो भए बच्चालाई जथाभावी छाडिदिने ? जे पनि गर्न छुट दिने ?’

बच्चालाई उनीहरुको हिसाबले सबै कुरा छुट दिनुपर्छ । तर, हाम्रो तर्फबाट त्यसमा सावधानी अपनाउनुपर्छ । जस्तो औषधी त्यहाँ नराखौं, जसलाई बच्चाले खेलाउन बनाउन सकोस् । चक्कु वा सलाई त्यहाँ नराखौं, जसलाई बच्चाले खेलौना नठानोस् । महत्वपूर्ण कागजात त्यहाँ नराखौं, जसलाई बच्चाले खेलौना नदेखोस् ।

टुट्ने, फुट्ने, घोच्ने, काट्ने आदि बस्तु, औजारलाई सुरक्षित राखौं । घरलाई यस्तो बनाऔं, मानौं त्यो बच्चाको खेल्ने ठाउँ हो । धराप होइन । बालमैत्री घर बनाऔं र बच्चालाई आफ्नो मर्जी अनुसार खेल्न दिऔं ।

एक पटक पढ्नुहोस