पुरुषको चाहना: कामकाजी कि गृहणी श्रीमती

आफ्नी श्रीमतीले घर-गृहस्थी सम्हालेर बसुन् । भात पकाइदिए, छोराछोरी स्यहारसुसार गरिदिए, आमाबुवाको ख्याल राखे, लुगाफाटो धोइदिए, घर सफा गरिदिए, पाहुनापात टारिदिए पुग्छ ।

कतिपय पुरुषले भने आफ्नी श्रीमती भात र भान्सामा खुम्चिएर नबसुन् । घरबाहिरको काम गरुन् । पेशा-व्यवसाय गरिदिए हुन्थ्यो । आयआर्जनको मेलोमेसो मिलाए हुन्थ्यो । आफुले जस्तै पैसा कमाइदिए हुन्थ्यो । घरको आर्थिक दायित्व उनले पनि बोकिदिए हुन्थ्यो ।

खासमा के चाहन्छन् पुरुष ?

खासमा पुरुषहरु आफ्ना श्रीमती गृहणी भएको रुचाउँछन् कि कामकाजी ? घर सम्हालेर बसेको मन पराउँछन् कि घर-बाहिरको काममा लागेको ? मिठामिठा खानेकुरा बनाउँदै भात-भान्सा उज्यालो बनाएको चाहन्छन् कि आयआर्जन गरेर ल्याएको ?

जवाफ ठ्याक्कै एउटा मात्र आउँदैन । किनभने पुरुषको मनोविज्ञान र प्रवृत्ति अनुसार उनीहरुको रोजाई फरक हुन्छ । त्यस्तै घरको अवस्था, पारिवारिक संस्कारले पनि यसमा प्रभाव पार्छ ।

कतिपय पुरुष हुनेखाने हुन्छन् । उनीहरुलाई अतिरिक्त आयअर्जनमा लाग्नुपर्ने बाध्यता वा अवस्था हुँदैन । यस्ता पुरुषहरुले आफ्ना श्रीमतीबाट आयआर्जनको अपेक्षा नगर्न सक्छन् । अर्को कुरा के पनि भने, उनीहरु के पनि चाहँदैनन् भने श्रीमतीले भात वा भान्सा सम्हालेर बसुन् ।

यद्यपी सबैको हकमा यस्तो हुँदैन ।

कतिपय परिवारको संस्कार नै छोरी-बुहारीलाई घरभित्रको काममा लगाउने । छोराहरु आयआर्जन वा घर बाहिरको काम गर्ने । यसमा भेदभावको भावनाले भन्दा पनि न्यायोचित कार्य-विभाजनको हिसाबले कामको बाँडफाड गरिएको हुन्छ ।

छोरा मान्छेलाई घरबाहिर जान, काम गर्न, त्यती प्रतिकुल हुँदैन, जति छोरी-बुहारीलाई हुन्छ । चाहे श्रमको हिसाबले होस् वा सुरक्षाको हिसाबले, घर बाहिरको काममा छोरा मान्छेलाई खटाइन्छ । यसको अर्थ छोरी-बुहारी कमजोर हुन्छन् भन्ने होइन । उनीहरुमा दक्षता नहुने भन्ने होइन ।

तर, पारिवारिक संरचना बलियो बनाउनका लागि परिवारका सदस्यहरुको सही र सन्तुलित कार्य-विभाजन हुनुपर्छ । यस हिसाबले छोरी-बुहारीलाई भात-भान्साको काममा खटाउनु भनेका उनीहरुलाई हेपेर, पेलेर, निरिह ठानेर, कमजोर मानेर होइन । बरु, छोरी-बुहारीले भात-भान्साको काम निपूर्णतापूर्वक गर्ने, उनीहरुको हातले पकाएको खानेकुरा मिठो हुने भएकाले, भात-भान्साको काममा उनीहरको हात छरितो हुने भएकाले उनीहरुलाई भात वा भान्साको काममा खटाइने गरिन्छ ।

ठिक यसैगरी घर बाहिरको काममा छोरा वा पुरुषहरु बढी उपयुक्त हुन्छन् । उनीहरु शारीरिक श्रम गर्न सक्छन् । उनीहरुलाई हिँडडुल गर्दा, काम गर्दा त्यती धेरै असहज हुँदैन । असुरक्षा हुँदैन ।

जस्तो छोरी-बुहारीहरु कतिपय शारीरिक समस्या झेलिरहेका हुन्छन् । मानसिक श्रावको अवस्थामा होस् वा गर्भावस्थामा, उनीहरुलाई हिँडडुल गर्न, काम गर्न गाह्रो हुन्छ । त्यसैले उनीहरुलाई घर बाहिरको काममा नखटाइएको हो । भान्साको संघारमा खुम्च्याइएको होइन ।

गृहणी कि कामकाजी ?

वास्तवमा कुनैपनि परिवारले वा पुरुषले श्रीमनीलाई-छोरीलाई-बुहारीलाई कमजोर ठानेर भातभान्साको काममा खटाएको होइन । गृहणी बनाएको होइन । यसर्थ छोरी-बुहारीले भान्साको संघार नाघेर बाहिर जानुपर्छ, भात पकाउनै हुँदैन, भान्साको काम सम्हाल्नै हुँदैन । घरभित्र मात्र सीमित हुनुहुँदैन भन्ने कुरा सही होइन ।

तर, अहिलेको अवस्थामा हाम्रा आवश्यक्ता बढेका छन् । आकंक्षा बढेका छन् । यसले पारिवारिक व्यायभार बढाइदिएको छ ।

यसर्थ घरको आयआर्जनमा पुरुष मात्र खटिएर पुग्दैन । पुरुष वा छोराहरुको कमाइले मात्र परिवारको सम्पूर्ण भौतिक आवश्यक्ता टर्दैन । यसकारण छोरीलाई, बुहारीलाई, श्रीमतीलाई पनि घर बाहिरको काममा प्रेरित गर्नुपर्छ ।

यससँगै अर्को महत्वपूर्ण कुरा के भने, छोरा वा पुरुषले भात पकाउने, भान्साको काम गर्ने, लुगाफाटो सफा गर्ने, बालबच्चा स्यहार्ने काम गर्नुपर्छ । घर बाहिरको काम पनि छोरी बुहारीले गर्नुपर्ने, भात र भान्सा पनि उनीहरुले नै सम्हाल्नुपर्ने कुरा न्यायोचित होइन ।

दुबै काममा अब सराबरी सहभागिता आवश्यक छ ।

एक पटक पढ्नुहोस