केन्याका डान्सबारमा नेपाली युवती, यसरी खुल्यो रहस्य

काठमाडौँ, १४ मङ्सिर- अफ्रिकी मुलुक केन्याका डान्सबारमा नर्तकी र यौनकर्मीका रूपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेको खुलेको छ । प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारीहरूले कात्तिक २३ मा न्युरोडबाट ललित सिंह सुवाललाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो ।

प्रहरी स्रोतका अनुसार युवतीको खोजीमा कात्तिक दोस्रो साता कविता नाम गरेकी भारतीय मुलकी केन्याली महिला काठमाडौं आएकी थिइन् । केन्याका डान्सबारमा युवती पठाउने एजेन्टका रूपमा सक्रिय सुवालले दुई युवती खोजिदिएका थिए । तर आफूले भनेजस्तो उचाइ, वर्ण र ढाँचा नमिलेको भन्दै कविताले ती दुई युवती लैजान अस्वीकार गरिन् । प्रहरी स्रोतका अनुसार सुवालले यसअघि नै दुई युवतीलाई केन्याका डान्सबारमा काम गर्ने गरी पठाइसकेका छन् । सुवालले नेपाली युवतीको फोटोसुट गरिएको तस्बिर ह्वाटसएपमार्फत केन्याली एजेन्टकहाँ पठाउने गर्थे ।

प्रहरीले केन्याका डान्सबारमा नेपाली युवती पठाउने गिरोह नै सक्रिय भएको सूचनाका आधारमा सुवाललाई पक्राउ गरेको थियो । युवतीको छनोट गर्न केन्याबाटै एक महिला आएको सूचना पाए पनि प्रहरीले तिनलाई भने पक्राउ गर्न सकेन । सुवाल पक्राउ पर्नुभन्दा दुई दिनअघि नै २१ कात्तिकमा केन्याली महिला स्थलमार्ग हुँदै भारत पसिसकेकी स्रोतको दाबी छ ।

एक पटक पढ्नुहोस