After header

रवीन्द्रको सपना योगेशको काँधमा

फूलमाला र खादाको स्वागतसँगै मन्त्रालय छिर्दा योगेश भट्टराई भावुक देखिन्थे। राजनीतिमा सधैंका सहयात्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त मन्त्रालयको नेतृत्व काँधमा आउँदा उनी भावुक देखिनु स्वाभाविक थियो।

विद्यार्थीकालदेखि एकै मोर्चाका सहयात्री थिए, योगेश र रवीन्द्र। मन्त्रालयमा छिर्नुअघि योगेशले भने, ‘म रवीन्द्र अधिकारीको उत्ताराधिकारी हुँ भन्नुमा गर्व छ।’ योगेशले कार्यभार सम्हालेपछि रवीन्द्रलाई नै पहिले सम्झे। ‘मैले भन्दा रवीन्द्रले नै मन्त्रालय राम्ररी समाल्न सक्नुहुन्थ्यो। तर, प्रकृति र नियतिलाई रोक्न सकिएन,’ योगेशले भने।

पार्टी राजनीतिमा योगेश अग्रज भए पनि संसदीय मोर्चा र शासकीय जिम्मेवारीमा रवीन्द्र अनुभवी थिए। पहिलोचोटि संसद् छिरेका योगेशले संसदीय अभ्यास रवीन्द्रसँगै सिकेका थिए। प्रधानमन्त्री केपी ओलीले योगेशलाई उनै रवीन्द्रले सम्हालेको मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर दिए। योगेशले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको शपथ लिए।

गत फागनु १५ मा तत्कालीन मन्त्री अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका थिए। प्रधानमन्त्रीले योगेशलाई पर्यटनमन्त्रीको जिम्मेवारी सम्हाल्न पटकपटक आग्रह गरेका थिए।

‘सहृदयी मित्र’ रवीन्द्रले सम्हालेको मन्त्रालय र त्यो पनि आफ्नै गृहजिल्लामा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका कारण योगेशले मानेका थिएनन्। पार्टीभित्रको ‘चर्काे दबाब’ र सरकारको प्रतिरक्षामा योगेशले खेलेको भूमिकाले योगेशलाई मन्त्री बनाउन प्रधानमन्त्री बाध्य भएका हुन्।

पटक–पटकको ‘कन्भिन्स’ पछ योगेशले जिम्मेवारी स्विकारे। त्यसो त प्रधानमन्त्री ओलीले चुनावकै बेला योगेशको गृहजिल्ला पुगेर मन्त्री बनाउने वचन दिका थिए। ‘तपार्इंहरू योगेशलाई सांसद बनाएर पठाउनुहोस्। मन्त्री बनाउने जिम्मा मेरो भयो’, ओलीले भनेका थिए। तर ओलीले १८ महिनाअगाडि सिंहदरबारमा ‘दोस्रो इनिङ’ गरिरहँदा योगेश टिममा परेनन्।

योगेश पार्टीभित्रको आन्तरिक गुटबन्दीको सिकार बने। वरिष्ठ नेता माधव नेपाल खेमामा रहेका योगेशलाई मन्त्री हुन नदिन प्रधानमन्त्रीकै सचिवालयमा रहेका केही नेता लागिपरेको चर्चा पनि चल्यो। ‘नियोजित योजनाबिना आएँ, दिउँसो १ बजेमात्र मन्त्री बनेको खबर पाएँ। मन्त्रालयका पियनदेखि सचिवसम्म सबै साथी हौं, एउटै टिममा छौं, टिमलाई गति दिन्छु, तपाईंले काम लगाउनुस्, म सिक्न आएको हुँ’, योगेशले पदभार ग्रहणपछि भने।

को हुन् योगेश ?

२०२३ सालमा ताप्लेजुङको मौवाखोलामा जन्मिएका योगेशले १४ वर्षको उमेरदेखि राजनीति सुरु गरेका थिए। २०३७ सालदेखि विद्यार्थी राजनीतिमा प्रवेश गरेका उनी ०४३ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियु सभापति भएका थिए। २०५२ सालमा उनी एमालेको विद्यार्थी संगठन अखिलका अध्यक्ष बनेका थिए।

विद्यार्थी संगनठमा विवाद भएपछि पार्टी नेतृत्वले भट्टराई, अहिलेका कानुनमन्त्री रहेका भानुभक्त ढकाल, प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका हिक्मत कार्की र दिवंगत रवीन्द्र अधिकारीलाई विद्यार्थी संगठनबाट झिक्न बाध्य भएको थियो।

त्यसपछि भने उनी माले–एमाले विभाजित हुँदा मालेतिर लागेका थिए। ०६२/०६३ को जनआन्दोलनमा योगेशले तत्कालीन एमालेबाट ‘निर्णायक भूमिका’ खेलेका थिए।

काठमाडौंको चुनाव भने योगेशलाई कहिल्यै फापेन। उनी पहिलो संविधानसभा र दोस्रो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र–६ पराजित भए। उनी २०७४ को प्रतिनिधिसभा चुनाव लड्न गृहजिल्ला ताप्लेजुङ पुगे। उनी त्यहाँबाट २९ हजार ४७९ मत ल्याएर विजयी भएका थिए।

झन्डै दुई तिहाइको नेतृत्व गर्न पाउँदासमेत ओली नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भनी चर्काे आलोचना भइरहँदा भट्टराई पार्टीभित्र सरकारको प्रतिरक्षाका लागि खरो रूपमा उत्रिने नेतामा पर्थे।

नेकपाभित्र मात्र होइन, पार्टीबाहिरका आलोचकका लागि पनि उनी उत्तिकै प्रिय छन्। कांग्रेस युवा नेता गगन थापाले योगेशमन्त्री भएपछि सामाजिक सन्जालबाट लेखे, ‘योगेश भट्टराई दाइ ! संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्। मन्त्रीका रूपमा तपार्र्इंको सफलता तपाई र तपाईको पार्टीसँग मात्र होइन, हाम्रो पुस्ताको राजनीतिकर्मीप्रतिको आशा र विश्वाससँग जोडिएको छ। मरीमुरी शुभकामना !’

एक पटक पढ्नुहोस