शंकास्पदलाई काठमाडौंमा छैन क्‍वारेन्टाइन

काठमाडौँ — ज्वरो आउने र शरीर दुख्ने भएपछि आयुष पटेल मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे । उनी एक महिनाअघि भारतबाट आएका थिए ।

चिकित्सकले उनलाई शंकास्पद मानेर कोरोना परीक्षणका लागि घाँटीको स्वाब लिए । तीन दिनपछि रिपोर्ट आउँछ भन्दै घर गएर क्‍वारेन्टाइनमा बस्न सुझाए । दुईवटा कोठामा ६ जना परिवारसहित बस्ने गरेकाले छुट्टै बस्न नसकिने उनले बताए । ‘मलाई कोरोनाको सबै लक्षण देखिइसक्यो,’ उनले भने, ‘यस्तो अवस्थामा म घर गएँ भने सबैलाई सर्छ, अस्पतालमै बस्छु ।’

अस्पताल प्रशासनले संक्रमितबाहेकलाई राख्न नसकिने जनाएपछि उनी अलमलमा परे । उनले स्वास्थ्य मन्त्रालयको १११५ हटलाइनमा फोन गरेर आफ्नो समस्या बताए । घर जान नसक्ने स्थिति भएकाले अन्य कुनै क्‍वारेन्टाइनमा राखिदिन अनुरोध गरे । मन्त्रालयबाट ‘काठमाडौंमा क्‍वारेन्टाइन छैन, घरमै बस्नुस्’ भन्ने जवाफ पाएपछि उनको चिन्ता झन् बढ्यो । उनले भने, ‘मलाई त केही नहोला, घरमा आमालाई मिर्गौला रोग छ । उहाँलाई सर्‍यो भने के गर्ने ?’

त्यस्तै सुनसरीबाट आमाको क्यान्सर रोगको उपचार गर्न भक्तपुर आएकी पूजा काफ्ले पनि समस्यामा परेकी छन् । अस्पतालले कोरोना परीक्षण नभएसम्म भर्ना नलिएपछि दूधपाटीको एक होटलमा आमा र छोरी बसेका थिए । तर स्थानीयले विरोध गरेपछि उनीहरू अस्पताल परिसरमै बसे । क्‍वारेन्टाइन नहुँदा उनीहरूले न अस्पतालमा बास पाए न त होटलमा ।

राजधानीमा क्‍वारेन्टाइन नहुँदा शंकास्पद व्यक्तिहरू जोखिम मोलेर घरमै बस्न बाध्य छन् । संक्रमण फैलिएको जिल्लाबाट काठमाडौं भित्रिएका र भाडामा बस्ने मानिसहरू यसको मारमा परिरहेका छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार संक्रमण फैलिएको ठाउँबाट आएका हरेक व्यक्तिलाई शंकास्पद मानेर अनिवार्य क्‍वारेन्टाइनमा राख्नुपर्छ । शंकास्पद व्यक्तिले परिवार र समुदायलाई भाइरस नसारोस् भनेर उसलाई लक्षण देखिने समय अवधिभर (१४ दिन) क्‍वारेन्टाइनमा राख्नुपर्छ । ‘यस्ता व्यक्तिको आवतजावत नियन्त्रण नगरे समुदायमा संक्रमण फैलिने उच्च जोखिम हुन्छ,’ उनले भने ।

सरुवा रोग अस्पतालमा दैनिक तीन सय जना शंकास्पद मानिसहरू परीक्षण गर्न आइरहेका छन् । अधिकांश मानिस जोखिम भनिएका तराईका जिल्लाबाटै आउने गरेको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए । घरमा छुट्टै बस्ने व्यवस्था नभएका मानिसलाई पहिले अस्पतालकै क्‍वारेन्टाइनमा राख्ने व्यवस्था थियो । संक्रमण बढेपछि अस्पतालमा धेरै शंकास्पद र संक्रमित राख्न बेड नपुग्ने स्थिति आएपछि सेल्फ क्‍वारेन्टाइनमा बस्नु भन्दै पठाउने गरिएको छ ।

कोरोनाको नेगेटिभ रिपोर्ट नआाएसम्म घरबेटीले घर पस्न नदिएका मानिसहरू अलपत्र पर्ने गरेका छन् । क्‍वारेन्टाइन दिनु भन्दै उनीहरू अस्पतालमा रोइकराइ गरिरहेका भेटिन्छन् । ‘केही उपाय नलागेपछि हामीले बेड भएसम्म अस्पतालमै सुत्नु भन्ने गरेका छौं,’ डा.भण्डारीले भने,

‘यसरी राख्दा संक्रमण नभएकालाई पनि यहाँबाटै रोग सर्ने जोखिम उत्तिकै हुन्छ ।’

पानी सप्लाइको काम गर्ने २५ वर्षीय युवकले तीन दिनअघि वडामा आरडीटीबाट कोरोना परीक्षण गरे । रिपोर्ट नेगेटिभ आएपछि उनलाई स्थानीयले १४ दिनपछि मात्रै आउनू भन्दै टेकु पठाए । अस्पतालले आरडीटी पोजिटिभलाई भर्ना नलिने बताएपछि उनी अलपत्र परे । जाने ठाउँ कतै नपाएपछि अस्पतालमै रुमल्लिए । अस्पतालको एउटा खाली बेडमा उनी सुतिरहेका छन् । ‘मलाई लक्षण छैन, कतै बाहिर जिल्ला पनि गएको छैन,’ उनले भने, ‘मलाई त घरबेटीले आउन दिएनन्, अन्त कतै जाने ठाउँ छैन ।’

उनले १४ दिन अस्पताल बसेर घर जाने बताए । काठमाडौंको एक होटलमा काम गर्ने २८ वर्षीय युवक पनि अस्पतालमै बसिरहेका छन् । उनको पनि आरडीटीमा कोरोना पोजिटिभ आएको थियो । जिल्लाबाट आउने मानिसहरूसँग हेलमेल भएकाले अस्पतालले उनलाई कोरोना आशंकामा पीसीआर टेस्ट नै गर्ने भएको छ ।

नियम बनाउँदैमा शतप्रतिशत लागू नहुने भएकाले उपत्यका छिरिरहेका शंकास्पदका लागि सामुदायिक क्‍वारेन्टाइन आवश्यक भएको जनस्वास्थ्यविद् डा. समीर दीक्षितले बताए ।

‘शंकास्पद होम क्‍वारेन्टाइनमा बस्नु ठीक हो तर घरमा ठाउँ नहुनेले समुदायमा रोग सार्ने उच्च जोखिम हुन्छ,’ उनले भने, ‘कि त घरबेटीले त्यस्ता व्यक्तिलाई निकाल्न नहुने कडा निर्देशन दिनुपर्‍यो कि नागरिकले कोरोनाको नाममा बास नपाउने समस्याको समाधान सरकारले गर्नुपर्‍यो ।’

बाहिर जिल्लाबाट काठमाडौं छिर्ने अनुमति नदिएकाले यहाँ सामुदायिक क्‍वारेन्टाइन आवश्यक नभएको स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले बताए । लुकीछिपी चोरबाटोबाट उपत्यका छिर्ने अनि क्‍वारेन्टाइन माग्नेको जिम्मा मन्त्रालयले नलिने उनले बताए । ‘यहाँ मान्छे छिर्ने भनेको हवाई माध्यमबाट हो,’ उनले भने, ‘अहिले त्यो बन्द भएपछि किन बनाउने क्‍वारेन्टाइन ?’ हवाई माध्यमबाट कोही आइहाले भक्तपुरको क्‍वारेन्टाइनमा राखिने उनले बताए । अहिलेका लागि सरकारले भारतसँग सिमाना जोडिएका जिल्लामा मात्रै क्‍वारेन्टाइनको व्यवस्था गरेको छ । डा. पोखरेलका अनुसार देशभर २२ जिल्लामा ६१ हजार ४ सय ४५ जना राख्ने क्‍वारेन्टाइन छ ।

नियमविपरीत उपत्यका छिर्ने र संक्रमण सार्ने जोखिम भएकालाई कसरी राख्ने यसको जिम्मा स्थानीय निकायले लिनुपर्ने र यसको पूर्ण अधिकार स्थानीयलाई दिएको उनी बताउँछन् । ‘केही समययता धेरै मानिस उपत्यका छिरेका छन्,’ उनले भने, ‘काठमाडौं महानगरले मन्त्रालयको समन्वयमा सामुदायिक क्‍वारेन्टाइन बनाउने छलफल भएको छ ।’

एक पटक पढ्नुहोस