युट्युबमा हेर्नलायक १० नेपाली डकुमेन्ट्री फिल्म

२०२८ सालमा शाही नेपाल चलचित्र संस्थान खुलेपछिका पहिलो १० वर्षमा १३ वटा वृत्तचित्र बनाइएका थिए। त्यसअघि बनेका वृत्तचित्रमा पनि राज्याभिषेक र राजाका भ्रमणका दृश्य कैद हुन्थे। विदेशीले बनाएका वृत्तचित्रमा भने उनीहरूको काम र यात्रासम्बन्धी विवरण समेटिएका हुन्थे।

२०४६ सालपछि भने वृत्तचित्र निर्माणमा नेपालको सामाजिक विविधता अनुसारका विषयवस्तुले पनि प्राथमिकता पाउन थाले।

फिल्म साउथ एसिया र काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव ‘किम्फ’ जस्ता अन्तर्राष्ट्रियस्तरका नियमित महोत्सवले यो विधाप्रति आकर्षण बढाउन योगदान दिएका छन्। नेपाली वृत्तचित्रले अन्तर्राष्ट्रिय महोत्सवमा पनि नियमित प्रदर्शित र पुरस्कृत हुँदै आएका छन्।

गैरआख्यान विधाको सशक्त माध्यम वृत्तचित्र नेपालमा लोकप्रिय भए पनि आमदर्शकको पहुँचबाट टाढै छ। पुराना र नाम चलेका वृत्तचित्र युट्युबमा धेरै उपलब्ध छैनन्।

औंलामा गन्न सकिने केहीबाहेक नेपाली वृत्तचित्रलाई दर्शकमाझ पुर्याउन सम्बन्धित पक्षले खासै चासो दिएको देखिँदैन।

यही सन्दर्भमा यसपटक युट्युबमा भएका केही चर्चित र राम्रा वृत्तचित्र खोज्ने प्रयास गरिएको छ।

‘द कोरियन ड्रिम’, निर्देशक :अशोक थापा

नेपालका मिनोद मोक्तान सन् १९९२ मा दक्षिण कोरिया पुगेका थिए। उनी त्यहाँ जाने बेला आप्रवासीप्रति त्यहाँको कानुन लचिलो थियो। तर कोरियन सरकारले २००३ मा आप्रवासी सम्बन्धी कठोर नीति लियो।

यो नीतिले खुन-पसिना बगाई तल्लो स्तरको मानिने र जोखिमपूर्ण काम गरेर कोरियाको अर्थतन्त्र बलियो बनाउन योगदान दिन आप्रवासी मजदुरको योगदान बेवास्ता गरेको थियो। भिसा नभएका विदेशी कामदारमाथि धरपकड हुन थाले। धन कमाएर जीवन सहज बनाउने सपना बोकेका मिनोदजस्ता धेरै कामदारलाई यो घटनाले निराश बनायो।

केही आप्रवासीले आत्महत्यासमेत गरे।

कोरियामा रहेका लाखौं आप्रवासीमाथि सुरक्षाकर्मीको दमन बढ्दै गएपछि मिनोदलाई आफूजस्तै आप्रवासी मदजुरको पक्षमा के गर्न सकिएला भनेर सोच्न बाध्य पार्‍यो। उनले आप्रवासी कामदारबारे गीत गाउन थाले। यही पृष्ठभूमिमा मिनोदसँगै कोरिया म्यानमार र इन्डोनेसियाका साथीहरू जोडिए र २००३ मा ब्यान्ड जन्मियो, ‘स्टप क्रयाक डाउन’।

आज मेरो तलब पाउने दिन
मेरो मुटु धड्किइरहेछ
लामो समयसम्म नपाएको तलब
सायद आज मैले पाउनेछु

रक शैलीमा विभिन्न स्थानमा मजदुरका भोगाइमा आधारित यस्तै गीत गाउने यो ब्यान्ड छोटो समयमै आप्रवासी कामदारको संघर्षको पर्याय बन्न पुग्यो। निर्देशक अशोक थापाले ‘कोरियन ड्रिम’मा यही संघर्षको कथा भनेका छन्।

आप्रवासीका अधिकारलाई मानवअधिकार र लोकतन्त्रका आधारभूत अधिकारका रुपमा लिइनुपर्ने कुरा वृत्तचित्रले गम्भीर रुपमा उठाएको छ। यो वृत्तचित्र फरक भाषा, संस्कृति र भूगोलका आप्रवासीलाई संगीतले कसरी एकताबद्ध गर्छ भन्ने कुराको दरिलो उदाहरण हो। र, यो अभियानको नेतृत्व गर्दै जेलनेल र कोरियाबाट निष्कासनमा समेत परेका मुख्य पात्र मिनोद नेपालकै थिए।

कोरियाली आप्रवासी र मानवअधिकारवादी आन्दोलनका रोल मोडल मिनोद मिनुका रुपमा चिनिन्छन्। २०१८ मा हृदयघातका कारण उनको निधन भएको थियो।

रोजगारीको सिलसिलामा दक्षिण कोरियामा आप्रवासी कामदारहरूले भोग्नुपरेको पीडालाई सशक्त्त रुपमा उठाएको ‘द कोरियन ड्रिम’ अल जजिरा इन्टरनेसनल डकुमेन्ट्री फेस्टिभल, बगदाद इन्टरनेसनल फिल्म फेस्टिभल, ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, क्यानडा इन्टरनेसनल फिल्म फेस्टिभललगायतमा अवार्ड पाउन सफल वृत्तचित्र हो।

इतिहास जित्नेहरूका लागि, निर्देशक: प्रणय लिम्बू

मायाले मूलबाटो भुलेछ…

मायाले मूलबाटो भुले पनि धेरै स्रोताले यो गीत अझै भुलेका छैनन्। न स्रोताको स्मृतिबाट यो गीतमा मधुर स्वर दिने गायक कुबेर राईको आवाजको मिठास नै हराएको छ।

२०५१ सालको राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा रामकृष्ण ढकाल तेस्रो र ईश्वर अमात्य दोस्रो हुँदा प्रथम हुने कुबेर राईमा धेरैले ठूलो सम्भावना देखेका थिए। तर धेरैलाई अचम्मित पार्दै २०५३ मा काठमाडौंको सांगीतिक प्रतिस्पर्धाबाट उनले हात झिके र आफ्नै गाउँ इलाम फर्किए। सारेगमको कर्म थाँती राखी उनले कुटो-कोदालो समाते।

कुबेर राई किन इलाम फर्किएर उनको पलायनको कारण के थियो भन्ने कुरालाई नै निर्देशक प्रणय लिम्बूले यस वृत्तचित्रमा देखाएका छन्। उनले आधुनिक विधाका कुबेर राईको पलायनको कथा भन्न स्टेजमा दर्शक झुमाउने शैलीका गीत गाएर चर्चा कमाएका पप गायक धीरज राईको संगीत यात्रा र व्यवसायिक सफलतालाई पनि सँगै जोडेका छन्।

भनौं, यो फिल्म यी दुई विपरीत धारको तुलनामै लक्षित छ। आफ्नो शैलीमा सम्झौता नगर्ने कुबेर राईले इलामबाट गीत रेकर्ड गर्न भनेर काठमाडौंका क्यासेट कम्पनीहरूको चक्कर काटेका दृश्य मार्मिक छ।

वृत्तचित्र हेर्दा नयाँ र पुरानो, आदर्श र यथार्थ अनि साधना र व्यवसायबीचको अन्तर भन्न कुवेर र धीरज सही पात्र हुन् भन्न दर्शकलाई कर लाग्छ। नेपाली संगीतमा बजारको रूचिले कस्ता कलाकार अगाडि परे कस्ता कलाकार पछाडि छुटे भन्ने कुरा थाहा पाउन पनि यो वृत्तचित्र महत्वपूर्ण छ। ‘इतिहास जित्नेहरूका लागि’ सन् २००३ को फिल्म साउथ एसियामा प्रिमियर भएको वृत्तचित्र हो।

ओमविक्रम, निर्देशक: धीरज राई

२०४६ सालअघिको नेपाली संगीतको मुख्य केन्द्र रेडियो नेपालमा गीत रेकर्ड गराउनु सहज काम थिएन। अझ, त्यहीँका कर्मचारी र प्रशासकले मन नपराउने गीत संगीतलाई त संगीत नै नमान्ने अवस्था थियो। यस्तो वक्रदृष्टि राख्नेमा नातिकाजी र तारादेवीजस्ता गायक-गायिका पनि थिए। रेडियो नेपालभित्रका मान्छेको यस्तै पूर्वाग्रहले धेरै गायक-गायिकाका गीत रेकर्ड नहुने, भए पनि ती गीत नबजाइदिने र कतिपयको त चुरोटले कार्टेज नै जलाइदिने गरेका घटना पढ्न-सुन्न पाइन्छ।

पहिलो पप गायकको उपमा पाएका ओमविक्रम विष्टको गुनासो पनि योभन्दा फरक छैन। अझ उनलाई त रेडियो नेपालभन्दा बाहिरका मान्छले समेत समाज भाँड्ने गीत गाएको आरोप लगाएका थिए।

तर उनै ओमविक्रमका ‘म मौनतामा’, ‘सून चाँदीभन्दा,’ ‘को हो त्यो जसले मलाई मोहनी लगायो’, ‘म सम्झन्थेँ बितेको जीवन मेरो,’ जस्ता अत्याधुनिक शैलीका गीतले भने उनीपछिको पुस्तालाई नै प्रभाव पार्यो। ओमविक्रमको शैली पछ्याउने त्यही पुस्ताले नेपालमा पप संगीत स्थापित गर्यो। धेरै पप गायकका आदर्श गायक ओमविक्रम विष्टबारे गायक धीरज राईले बनाएको वृत्तचित्र हो।

यसमा ओमविक्रमले फरक शैलीको गीतसंगीत गर्ने क्रममा भोगेका तीतामीठा सम्झना आफ्नै शब्दमा बताएका छन्। सँगै प्रकाश गुरुङ, सुकमित गुरुङ, हरिश माथेमा, भीम तुलाधर, सुनील उप्रेती, सञ्जय श्रेष्ठ, नलिना चित्रकार, सञ्‍जीव प्रधान, नविन के भट्टराई, मोहन भुसाल, पाण्डव सुनुवार, रत्‍न शमशेर थापा, प्रकाश सायमी, सुनील पोखरेल लगायतले ओमविक्रम र पप गीत संगीतबारे बोलेका छन्।

अन्तर्वार्ता शैलीको यो वृत्तचित्रमा धीरज राई आफैंले पनि धारणा राखेका छन्। प्रस्तुति हिसाबले सामान्य भए पनि यो वृत्तचित्र नेपाली पप संगीतको एउटा कालखण्डको इतिहास बुझ्न उपयोगी छ।

अञ्जली, निर्देशक: मोहन राई

पहिलो नेपाली ‘ट्रान्सजेन्डर’ मोडलका रुपमा ख्याती कमाएकी अञ्जली लामाले मुम्बई ‘ल्याक्मे फेसन शो’ को र्‍याम्पमा छनोट भएपछि अन्तर्राष्ट्रिय स्तरको चर्चा कमाइन्। उक्त शोमा तेस्रो प्रयासमा छानिएकी उनले यो सफलता पाउन भने संघर्षको लामो यात्रा पार गरेकी छिन्।

नुवाकोटको विकट गाउँमा घाँसदाउरा र घरको काम गर्दै हुर्केकी उनले काठमाडौं आएपछि जीवन निर्वाह गर्न होटलमा भाँडा माझ्ने कामसमेत गर्नुपरेको  थियो। तर यौनिक पहिचानका लागि गरेको संघर्ष अझै ठूलो छ।

जन्मँदा उनी छोराका रुपमा जन्मे। नाम नवीन राखियो। केटा भएर पनि कस्तो केटीजस्तो भन्दै गिज्याउने वचनहरू सुन्दै बालापन बित्यो। एसएलसीपछि काठमाडौं आएर ब्लु डायमन्ड सोसाइटीको सम्पर्कमा आएपछि बल्ल उनले यौनिकताबारे धेरै कुरा बुझिन्। हौसला दिनेहरू पनि भेटिन्। बैंकक गएर लिंग परिवर्तन गरेपछि नवीनबाट अञ्जली बनिन्।

निर्देशक मोहन राईले अञ्जलीको यही यात्रालाई विस्तारमा उतार्ने प्रयास गरेका छन्। यो वृत्तचित्रमा अञ्जलीको जन्मथलोदेखि नुवाकोट र काठमाडौंमा छायांकन गरिएको छ।

सन् २००९ देखि मोडलिङमा प्रवेश गरेकी उनी आज ‘एलजिबिटिआई’ समुदाय र अन्य धेरैका लागि प्रेरणाको स्रोत हुन्। ‘जीक्यू’ को ‘सोसल चेन्जर’ भनेर स्टाइल अवार्ड पाएकी उनी ग्रासिया मिलेनियल अवार्डमा ‘मोडल अफ द इयर’ पाउने पहिलो नेपाली बनेकी छिन्।

गत वर्ष उनले ‘भोग मोडल अफ द इयर अवार्ड’ पाएर थप चर्चा कमाएकी थिइन्।

जर्नी टु यार्सा, निर्देशक: दीपेन्द्र भण्डारी

आधा च्याउ, आधा पुतलीको लार्भाजस्तो बहुमूल्य जडिबुटीको बजारमा ठूलो माग छ। यसको आर्थिक महत्वकै कारण हिमाली र उच्च पहाडी भेगका मानिसमा यार्सा संकलनप्रति ठूलो आकर्षण छ। यो बुटी त्यस भेगका मानिसको जीवन धान्ने एउटा मुख्य आधार हो।

रुकुम पुपाल क्षेत्रमा पाइने यार्सा उत्कृष्ट मानिन्छ। मैकोटकी पुनिमाया र उनको परिवार हरेक वर्ष यार्सा टिप्न उक्लिन्छन्। निर्देशक दीपेन्द्रले पुनिमाया र उनको परिवार मार्फत सिंगो गाउँको कथा उतारेका छन्। डकुमेन्ट्रीमा बुकी जाने अर्थात् यार्सा संकलन गर्ने समय आएपछिको तयारी, उनीहरूको सामूहिक यात्रा र संघर्षको जीवन्त चित्रण पाइन्छ।

अर्थ आर्जनको आधार भए पनि यार्सा टिप्ने काम सजिलो छैन। वृत्तचित्रमा यार्सा संकलनका तिनै जटिलता विस्तारमा समेटिएको छ। करिब दुई महिना लगाएर यार्सा टिप्न गाउँलेहरू पाँच हजार मिटरभन्दा माथिको उचाइमा पुग्छन्। त्यसपछि स्थानीय समितिको अनुमतिका लागि कुर्नुपर्छ।

स्थानीय समितिले बन्दुक पड्काएर अनुमतिको संकेत दिन्छ। वृत्तचित्रमा हजारौं मानिसको हुल यार्सा भएको क्षेत्रतर्फ दौडिएको दृश्य सुन्दर ढंगले खिचिएको छ। कुभ्म मेलाजस्तो बुकी जाने यात्रा रोचक र केही डरलाग्दा घटनाले भरिएका छन्। यो वृत्तचित्रले कथा र यसका पात्रसँगै दर्शकलाई पनि यार्सा टिप्ने यात्रामा सँगसँगै डोर्याउँछ। नेपाली समाजकै एउटा फरक भूगोल र त्यहाँको जनजीवनसँग परिचय गराउँछ।

२०६८ मा भएको फिल्म साउथ एसियाको उद्घाटन समारोहमा देखाइएको ‘जर्नी टु यार्सा’बाट दीपेन्द्रले ‘वेस्ट डेब्यु फिल्म अवार्ड’ जितेका थिए। किम्फमा अडियन्स अवार्ड पाएको ‘जर्नी टु यार्सा’ले क्यानडाको टोरन्टोमा भएको महोत्सवमा पनि अडियन्स अवार्ड पाएको थियो।

‘जर्नी टु यार्सा’ लकडाउनपछि युट्युबमा राखिएको हो। धेरै राम्रा नेपाली वृत्तचित्र बनेर विदेशमा समेत चर्चा भए पनि युट्युबमा नपाइने भएकोले आफ्नो वृत्तचित्र लकडाउनको समयमा धेरैले हेर्न पाऊन् भनेर राखेको निर्देशक भण्डारीले बताए।

 

जोगीमाराका ज्यूँदाहरू, निर्देशक: मोहन मैनाली

दस वर्षे सशस्त्र माओवादी युद्ध बेला आतंककारीका नाममा राज्यतर्फको सेनाबाट धेरै निर्दोष मारिएका थिए। यो वृत्तचित्रमा धादिङ जोगीमाराका निर्दोष मानिसहरू कर्णालीको कालीकोटमा सेनाको गोलीबाट सामूहिक रूपमा मारिएका मजदुरको हृदयविदारक कथा छ।

लाशसमेत देख्न नपाएका आफन्तजनको व्यथासँगै सिंगो गाउँकै शोक यसमा मार्मिक रुपमा देखाइएको छ। अछाम सदरमुकाम आक्रमण गरेर भागेका माओवादी खोज्दै हिँड्ने सेनाले कोटवाडा विमानस्थलमा काम गर्ने १७ जना चेपाङसँगै अन्य १८ गरी ३५ जनाको हत्या गरेको थियो। मृतकका आफन्त र साथीहरू मारिनुभन्दा केही दिनअघि मात्र कोटवाडाबाट जोगीमारा फर्केका बेलबहादुर विकसँगको कुराकानीमा आधारित भई वृत्तचित्र बनाइएको छ।

यो वृत्तचित्रको सन्दर्भ मोहन मैनालीको किताब ‘मान्ठा डराएको जुग’मा ‘कोटबाडा’ शीर्षकअन्तर्गत पढ्न पाइन्छ। द्वन्द्वकालीन संकटको घडीमा खोज पत्रकारिता केन्द्रको तर्फबाट तयार पारिएको यो वृत्तचित्र तत्कालीन संकटको घडीको साक्षी हो। जोगीमाराका ज्यूँदाहरू सन् २००२ को ‘किम्फ’ मा प्रदर्शन भएको थियो।

युट्युबमा मैनालीका ‘पुनेको प्यान्ट’, ‘रेउलीको भत्केको घर’ आदि ‍‍‍वृत्तचित्र उपलब्ध छन्।

ब्लुज अफ पिंक, निर्देशक: गृष्म गिरी

आफ्नो पहिचानका लागि व्यक्तिले पारिवारिक र सामाजिक लडाइँ लड्नु सामान्य हो। तर समाजको मापदण्डमा असामान्य मानिने केही मानिसका लागि यो प्रक्रिया चुनौतीपूर्ण बनिदिन्छ।

जनकपुरका उदय उर्फ सपना यस्तै असामान्य पात्र हुन्। ‘ब्लुज अफ पिंक’ केटाका रुपमा जन्मेर शल्यक्रिया गरी केटी भएकी सपनाले आफ्नो लैंगिक पहिचान र अन्य मान्छेसरह सम्मानपूर्वक बाँच्न गरेको संघर्षको कथा हो। यो कथालाई युवा निर्देशक गृष्म गिरीले मनको संवेदना छुने गरी श्रव्य दृश्यमा उतारेका छन्।

सपना ११ वर्षको उमेरमा काम खोज्दै भारतको मुम्बई पुग्छन्। दुई वर्षजति विभिन्न महिला पात्रको भूमिका निर्वाह गर्दै नाचगान कर्ममा संलग्न हुन्छन्। परिवारको चाहनामा १३ वर्षको कलिलो उमेरमै उनको एक जना केटीसँग बिहे हुन्छ। तर यो सम्बन्ध लामो समय टिक्न सम्भव हुँदैन। बिहे सफल नभए पनि उनमा आमा बनेर सन्तान हुर्काउने तीव्र चाहना हुन्छ।

तर उनको पृथक लैंगिक पहिचान र चाहनालाई समाजले पचाउन सक्दैन। सारा गाउँ उनको दुश्मन हुन्छ। यसले उनको संघर्षमा झनै चुनौती थपिन्छ। ‘हिजडा’ वा ‘छक्का’ जस्ता बिझाउने शब्द र अपहेलित व्यवहार झेल्दै अघि बढेकी सपनाको संघर्ष बिस्तारमा बुझ्न ‘ब्लुज अफ पिंक’ हेर्नै पर्छ। उनको निजी जीवन र परिवारका सदस्यसँगको भावनात्मक सम्बन्धका उतारचढावले दर्शकको मन पक्कै छुनेछ।

मुख्यत: मिथिलाको सांस्कृतिक केन्द्र जनकपुर मन्दिर आसपासको परिवेशमा खिचिएको यो वृत्तचित्र अंग्रेजी सबटाइटलसहित मैथिली भाषामा छ। पछिल्लो किम्फमा प्रदर्शन भएको यो वृत्तचित्र ‘टोनी हेगन फाउन्डेसन डकुमेन्ट्री ग्रान्ट’ पाउन सफल भएको थियो।

उहिलेको नेपाल, निर्देशक: टोनी हेगन

स्वीस सेनाको एउटा कथा यस्तो छ-

स्वीट्जरल्यान्डको पहाडी भागमा ख्याती प्राप्त आदिवासी बस्छन्। उनीहरू सेनामा हुँदा कहिले पनि मोजा लगाउँदैनथे। त्यसका ठाउँमा ऊनीको फेटाजस्तो कपडा खुट्टाको वरिपरि बाँधेर त्यसैले काम चलाउँथे।

सन् १९५० को दशकमा नेपालका विभिन्न भूभाग डुलेर १४ हजार किमी पैदल यात्रा गरेका स्वीस भूगर्भविद टोनी हेगनले पनि नेपालमा बनेको दरो ऊनीको फेटाको मोजा बनाएर यात्रा गरेका थिए। यस्तो मोजाले छ महिनासम्म धान्थ्यो।

‘उहिलेको नेपाल’ टोनी हेगनको त्यही यात्राको दृश्य दस्तावेज हो। नेपालीले वृत्तचित्र बनाउने क्रम सुरू नहुँदैको यो वृत्तचित्र उहिलेको नेपाल चिहाउने आँखिझ्याल पनि हो।

भूगर्भविदका रूपमा यात्रा गर्दा हेगन नेपालका मानिसको जीवनशैलीप्रति पनि चासो राख्थे। यो यात्रा सफल पार्न उनले नेपाली भरियाहरूको विशेष सहयोग लिएका थिए जुन वृत्तचित्रमा देख्न सकिन्छ। झन्डै एक दशक लामो यात्राको कथा भन्ने यो वृत्तचित्रले दर्शकलाई भीर, नदी, नाला, हिमालदेखि नेपाली कला संस्कृतिसम्मको रोचक यात्रामा हिँडाउँछ।

टोनी हेगनले यात्राका क्रममा खिचेका दृश्यलाई पछि आवाज दिएर वर्णन गरेका हुन्। लेखक तथा वृत्तचित्र निर्देशक मोहन मैनालीका अनुसार हेगनले गरेको दृश्यको वर्णन भिडियो क्यामरामा खिचिएको थियो। सो फिल्म र उनले गरेको फिल्मको वर्णन छुट्टाछुट्टै स्रोतबाट ‘प्ले’ गरेर यस फिल्मलाई १९९९ को फिल्म साउथ एसियाको उद्घाटनका अवसरमा देखाइएको थियो।

पछि उनको बोली र फिल्म सम्पादन गरी नेपालीमा समेत अनुवाद गरियो।

नथिङ इज इम्पोसिबल, निर्देशक : शान्ता नेपाली

युद्धका क्रममा दुवै खुट्टा गुमाएको मान्छेले त्यसपछिको जीवनलाई कुन रुपमा लेला? कमजोर हृदय लिएर बाँच्ला वा फेरि नयाँ बाटोमा हिँड्ने साहस गर्ला? सहजै भन्न गाह्रो छ।

यो प्रश्नको जवाफ खोज्दा हरि बुढामगरको जीवनी धेरैका लागि प्रेरणा बन्न सक्छ। शान्ता नेपाली निर्देशित ‘नथिङ इज इम्पोसिबल’ ले हरि बुढामगरको त्यही प्रेरणादायी कथा भन्छ।

बेलायती सेनामा कार्यरत हुँदा हरिले अफगानिस्तानमा खटिएका बेला बम पड्केर दुवै खुट्टा गुमाउनु परेको थियो। त्यसपछिका दिनमा जीवन सामान्य अवस्थामा फर्काउन उनलाई सहज हुँदैन। तर पनि उनी सानैदेखिको सगरमाथा चढ्ने सपनातिर आकर्षित हुन्छन्। हरिले त्यो सपना पूरा गर्न सक्लान् वा त्यसमा असफल होलान्। वृत्तचित्रको मूल कथा यही हो।

यो वृत्तचित्र ‘फोकस अन एबिलिटी २०१९’ अन्तर्गत संसारभरबाट सबभन्दा बढी अनलाइन भोट पाएर अस्ट्रेलियाको सिड्नीमा पुरस्कृत भएको थियो

हु विल बी अ गुर्खा, निर्देशक: केसाङ छेतेन

गोर्खा सैनिकलाई एकातिर वीरताको प्रतीक र अर्कोतिर नेपाली दु:खको विम्बका रुपमा लिइन्छ। सन् १८१७ यता लाखौं नेपाली युवाले भाडाको सिपाहीका रुपमा बाहिरी देशको स्वार्थका लागि लड्दै आएको छ। दुई सय वर्ष लामो यो परम्परामा लाखौं नेपाली युवाले ज्यानको बलिदान दिइसकेका छन्। यो क्रम आज पनि जारी छ।

केसाङ छेतेनको ‘हु विल बी अ गुर्खा’ का अनुसार पहिलो र दोस्रो विश्वयुद्ध गरी दुई लाख बीस हजार नेपाली युद्धमा सहभागी भएका थिए। यस दौरान मारिने र घाइते हुनेको संख्या चालीस हजारभन्दा बढी छ।

यस वृत्तचित्रमा निर्देशक छेतेनले आज पनि गोर्खा सैनिकमा भर्ती भई बेलायत जाने सपना बोकेका युवाहरुको कथा भनेका छन्। गोर्खा भर्तीको इतिहास भन्नेभन्दा यसमा भर्ती हुने प्रकृयालाई केन्द्रमा राखिएको छ। यस क्रममा सहभागीको मनोविज्ञानलाई चित्रण गर्ने उनको उद्देश्य देखिन्छ।

यसमा सहभागी स्वदेशभित्रको बेरोजगारी समस्या, पारिवारको लाहुरे परम्परा र आर्थिक सुरक्षाजस्ता कुराले उनीहरू फौजमा भर्ती हुन आकर्षित भएको देखाइएको छ। वृत्तचित्रमा पोखराको भर्तीकेन्द्रभित्रका गतिविधि समेटिएको छ जसमा कठोर छनोट प्रकृया र त्यहाँको कडा अनुशासनलाई विस्तारमा देखाइएको छ। भर्तीभित्रका तालिम, परीक्षा लिने प्रकृयासँगै पुराना फुटेज पनि प्रयोग गरिएको छ।

एक पटक पढ्नुहोस