जोखिम देखिएपछि बीमा समितिद्वारा कोरोना बीमामा कडाई

काठमाडौं । जोखिम देखिएसँगै बीमा समितिले कोरोना बीमासम्बन्धी प्रावधानमा कडाई गरेको छ । बीमा समितिले शुक्रबार इजाजतप्राप्त सबै निर्जीवन बीमा कम्पनीलाई निर्देशन जारी गर्दै कोरोना बीमालाई जारी गर्दै यसको अन्डरराइटिङ प्रक्रियालाई व्यवस्थित गर्न विशेष खालको निर्देशन दिएको हो ।

जसअनुसार भारतबाट आएका व्यक्तिले नेपाली सीमामा १५ दिन क्वारेन्टाइन बसेर घर फर्किएपछि पुनः १५ दिनपछि मात्रै कोरोना बीमामा सहभागिता जनाउन पाउनेछन् । बीमालेख जारी भएको १५ दिन अवधिपछि मात्रै जोखिम लागु हुने भएकोले उनीहरु ४५ दिनसम्म बीमा रकम दाबी गर्न योग्य हुने छैनन् ।

त्यस्तै, विदेशबाट आएका व्यक्तिले बीमा गर्दा आफू निरोगी रहेको आरडीटी परीक्षणमा नेगेटिभ भएको रिपोर्ट पेश गरेपछि मात्रै बीमाको अन्डरराइटिङ हुने र त्यसअघि उक्त प्रमाणपत्रलाई स्थानीय तहबाट प्रमाणित गरेर ल्याउनुपर्ने व्यवस्था समेत बीमा समितिले गरेको छ ।

साथै, आरडीटी परीक्षणको रिपोर्ट नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट प्रमाणित भएको हुनुपर्ने व्यवस्था गरिएको छ । साथै यो विवरण सबै बीमा कम्पनीलाई आफ्नो वेभसाइटमा राख्न समेत भनिएको छ ।
हालसम्म १२ हजार ५ सय ७८ बीमालेखमार्फत् १ लाख ५८ हजार ९ सय ३६ जनाले कोरोना उपचारको बीमा गरिसकेका छन् । १ महिनाको यो अवधिमा ८ करोड ६१ लाख रुपैंया बीमाशुल्क संकलन समेत भएको बीमा समितिले जनाएको छ ।

बीमा गर्नेको संख्यासँगै देशमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि बीमा समितिले बीमामा कडाई गर्न थालेको हो । बीमकहरुले यो बीमालेखले बीमा कम्पनीहरुलाई जोखिममा लैजानसक्ने भन्दै यसलाई बन्द गर्न माग गरिसकेका छन् ।

एक पटक पढ्नुहोस