After header

माउन्टेन बाइकका लागि बन्दिपुरमा साइकल लेन

तनहुँ – पहाडकी रानी नामले चिनिएको बन्दिपुर मध्य नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य हो। भक्तपुरे शैलीका परम्परागत घर, एसियाकै ठूलो मध्येको शिद्द गुफा, फराकिलो हिमशृङ्खलाको अवलोकन लगायत विभिन्न पर्यटकिय महत्वको तनहुँको बन्दिपुरमा माउन्टेन बाइक प्रेमीका लागि मध्यनजर गर्दै साइकल लेन बनाउन सुरु गरिएको छ।

‘बन्दिपुर साइकल लेन’ नाम दिइएको बाटो रामकोट बाट बन्दिपुर हुँदै बाहुन भञ्ज्याङ् सम्म पुग्नेछ। नौ किलोमीटर लम्बाइ रहेको साइकल लेनको औसत चौडाइ साँढे एक मिटर रहने बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले बताए।

निर्माणाधीन साइकल लेनको ३ किमि काम सम्पन्न भएको छ। अनुमानि लागत ८ लाख ५० हजार रहेकोमा प्रधानमन्त्री स्वरोजगार कोष बाट ६ लाख ५० हजार र गाउँ पालिकाको श्रममा आधारित कोभिड १९ राहत कार्यक्रम बाट २ लाख बिनियोजन गरिएको थापाले जानकारी दिए।

रामकोट बाट मुकुन्देस्वरी डाँडाको उत्तरी मोहोडा हुँदै बन्दिपुर बजार आइपुग्ने साइकल लेन टुँडिखेल–बौद्ध गुम्बा बाट रानिबनको उत्तरी मोहोडा हुँदै बाहुन भञ्ज्याङ् पुग्नेछ। उक्त साइकल लेन बाट फराकिलो हिमशृङ्खलासँगै विभिन्न मनोरम प्राकृतिक दृश्यावलोकन गर्न सकिने छ।

साइकल लेनले फरक भूगोल मात्र नभई फरक सँस्कृतीलाई पनि जोड्नेछ। मगर सँस्कृतीको धनी रामकोटमा परम्परागत घुमाउने घर समेत छन। बन्दिपुर बजारको नेवार समुदायमा डोको नाच, पुतलिको बिहे लगायत नेपालमै अनौठा साँस्कृतिक परम्परा छन्। साइकल लेनको अन्तिम बिन्दु बाहुन भञ्ज्याङ् सँगैको कोरिखा गाउँ गुरुङ सँस्कृती जोगाइ राखेको ठाउँ हो।

साइकल प्रेमी सँगै एकदिने हाइकिङ गर्न चाहनेलाई पनि उक्त बाटो उपयुक्त हुने बन्दिपुर पर्यटन बिकास समितिका अध्यक्ष किसन प्रधानको तर्क छ। रानिबनमा जंगली कन्दमुल खाँदै हिड्नुको मजा अर्कै हुने प्रधान बताउँछन्।

एक पटक पढ्नुहोस