खुलेको तीन दिन नबित्दै फेरि बजार बन्द

वीरगन्ज । लकडाउनको समयमा वीरगन्जका बजार खोल्न अनुमति दिएको तीन दिन नबित्दै फेरि स्थानीय प्रशासनले बन्द गराएको छ ।

जेष्ठ २४ गते बसेको सुरक्षा समितिको बैठकले पसल व्यवसायमा उपस्थित सर्वसाधारण एवम् व्यवसायीहरुबाट तोकिएको सर्त तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरु पालना नभएको अवस्थाले संक्रमण बढन सक्ने खतरा देखिएकाले अत्यावश्यक बाहेक सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेकाे हाे ।

जेष्ठ २१ गते बसेको सुरक्षा समितिको बैठकले बजारलाई खुकुलो बनाउने निर्णय गरेपछि शुक्रबार देखि वीरगन्जका पसलहरु जोर विजोर प्रणालीबाट खुल्न थालेका थिए ।

संक्रमण फैलिन नदिन पर्याप्त सावधानी अपनाएर व्यवसाय खोल्न भनिएकोमा पालना नभएपछि बन्द गराउनु परेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

लकडाउनले व्यवसाय चौपट भएको भन्दै स्थानीय व्यवसायीले विरोध गरेपछि प्रशासनले लकडाउन खुकुलो बनाएर व्यापार चलाउन सहजीकरण गरेको थियो ।

एक पटक पढ्नुहोस