गत २५ गते भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको कोरोना परीक्षणको रिपोर्ट ३६ घण्टा बित्दा पनि आउन सकेको छैन । रिपोर्ट नआउँदा मृत्तकको शव व्यवस्थापनमा समस्या भएको छ ।
सिन्धुपाल्चोक घर भइ चागुनारायण नगरपालिकाको झौखेल बस्ने ३६ वर्षीया सन्तमाया लामाको नर्मल डेलिभरी भएको थियो ।
अस्पतालका अनुसार भर्ना हुँदा नै महिलामा खोकी, श्वासप्रश्वासमा समस्या र जाँच गर्दा छातिमा खराबी देखिएको थियो । डेलिभरी पश्चात एक्कासी श्वास फेर्न समस्या देखिएको थियो भने शरीरमा अक्सिजनको मात्रा घटेको थियो । डाक्टरको प्रयासका बावजुद उनको राति ९ बजेर ३० मिनेटमा मृत्यु भएको थियो ।
उनको आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएका ले स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीहरुलाई सोही वार्डमा नै आइसोलेनमा राखिएको अस्पतालले जनाएको छ ।
बच्चाको अवस्था सामान्य रहेको छ भने आफन्तको समेत स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ प्रयोगशाला पठाइएको छ ।
