सांसद गिरीको अभिव्यक्तिले नेपाली जनताको देशभक्तिको भावना ठेस पुर्‍याएको छ : नवल खड्का

काठमाडौं । चलचित्र नायक एवं निर्माता नवल खड्काले सांसद सरिता गिरीले हालै दिएका अभिव्यक्ति नेपालको संविधानविरुद्ध रहेको बताएका छन् ।

रातोपाटीसँग कुरा गर्दै नायक एवं निर्माता खड्काले सांसद गिरीका अभिव्यक्तिले नेपाली जनताको देशभक्तिको भावनामा ठेस पु-याउने नियतले अभिप्रेरित रहेको पनि बताएका छन् ।

समाजवादी पार्टीकी सांसद गिरीले हालै एक टेलिभिजन अन्तरवार्तामा लिपुलेक, लिम्पियाधुरा नेपालको भूभाग हो भन्नेमा आफूलाई विश्वास नरहेको बताएकी थिइन् । भारतलाई नसोधी नेपालले नक्सा जारी गरेर विवाद बढाएको उनको भनाइ थियो । अन्तरवार्तामा उनले संसदमा आफूले हिन्दी भाषा नै प्रयोग गर्ने र हिन्दी भाषा नै मुख्य भाषा रहेको वकालतसमेत गरेकी थिइन् ।

‘उनले जुन शक्तिलाई रिझाउन चाहेर बोलेकी छिन्, त्यस शक्तिले पनि देशघातीबाट जुनसुकै बेला धोका हुनसक्छ भन्ने लिखत राखेको हुन्छ,’ नायक खड्काले भने,, ‘कुनै पनि सभ्य मुलुकले अर्को मुलुकका देशभक्तलाई मन पराउँछ, राष्ट्रघातीलाई होइन ।’

नेपाली इतिहासका विभिन्न घटनाक्रमलाई उद्धृत गर्दै उनले भने, ‘अंग्रेजहरुले भक्ति थापाको मृत शरीरको दर्शन गरेर झुकेका थिए । उनै भक्ति थापाको देशभक्तिका लागि सम्मानस्वरुप नालापानीमा स्तम्भ गाडेका थिए । त्यस्ता सम्मानितले नै बहादुरीका साथ आर्जेको भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक हो । आज हामी त्यसै भूमिका लागि पहल गरिरहेका छौं । तर गिरी जस्ता मानिसहरु हामीविरुद्ध भारतीय कठपुतली बनिरहेका छन् ।’

उनले अगाडि भने, ‘उनीहरुका नचाइ र बोलाइ मुलुकको सार्वभौमसत्ताविरुद्धको अपराध हो । यो मुलुकको संविधान बर्खिलाप छ र राज्यविरुद्धको अपराधको सजायभागी छ ।’

मुलुकको सांसदजस्तो गरिमामय पदमा रहँदारहँदै आएको यस्ता अभिव्यक्ति संसदीय परम्परा तथा मान्यता विपरित रहेको पनि खड्काले टिप्पणी गरेका छन्।

उनले संविधान विरुद्ध र संसदीय मान्यता प्रतिकूल अभिव्यक्ति दिएकी गिरीमाथि कारवाहीको मागसमेत गरेका छन् ।

एक पटक पढ्नुहोस