नेविसंघले भन्यो : शैक्षिक संस्था नखुलुन्जेलको शुल्क नतिर्नू

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) शैक्षिक संस्था नखुलुन्जेलको शुल्क नतिर्न सम्पूर्ण अभिभावकलाई आह्वान गरेको छ । प्याव्सन र नेशनलप्याब्सन नेपालद्वारा आइतबार जारी संयूक्त अपिलप्रति आपत्ति जनाउँदै यस्तो आग्रह गरेको हो ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा लकडाउनको अवस्थामा ३ महिनादेखि वन्द रहेको विद्यालयहरुले शुल्कहरु चुक्ता गर्न अभिभावकहरुलाई गरेको अपिल हास्यास्पद र भत्सर्ना योग्य भएको उल्लेख छ ।

‘शिक्षा मन्त्रालयले बैशाख २२ गते सरकारबाट अर्काे निर्णय नभए सम्म कुनै पनि विद्यालयले कुनै पनि तह वा कक्षामा नयाँ भर्ना नगर्नु, नगराउनु र भर्नाका नाममा वा अनलाइन पठन पाठनका नाममा कुनै शुल्कलिने वा वैंक खातामा रकम जम्मा गर्न लाउने कार्य नगर्नु भनेर प्रष्ट निर्देशन गरेको अवस्थामा प्याब्सन र नेशनलप्याब्सनले कसरी यस्तो अपिल गरे ? त्यसै गरी प्याब्सन र नेशनलप्याब्सनले यसरी खुल्ला अपिल जारी गरेर अभिभावकहरुलाई शुल्क (बाँकी बक्यौता) बुझाउनभन्दा पनि शिक्षा मन्त्रालय र यो सरकार के हेरेर वसिरहेको छ ?,’ विज्ञप्तिमा भनिएको छ ।

प्याब्सन र नेशनल प्याब्सनलाई तुरुन्त उक्त निर्णय फिर्ता लिन र सरकारले गम्भीरतापूर्वक यो समस्या समाधान गर्न तदारुकता नेविसंघको माग छ । विद्यार्थीका अभिभावकहरुसँग शैक्षिक संस्था वन्द रहेको अवधिको शुल्क अशुल्ने कुरा नेविसंघलाई कुनै हालतमा मान्यन हुने नेविसंघ महामन्त्री दीपक भट्टराईले चेतावनी दिए ।

यस्तै महामन्त्री बलदेव तिमल्सिनाले प्याब्सन, एनप्याब्सनको मनपरीलाई सरकारले रोक्नुमा जोड दिए । बिहान बेलुककीको छाक कसरी टार्ने भन्ने बेलामा विद्यालयले झन् तनाव थप्नु मानवीय हिसाबले पनि उपयुक्त नभएको बताए ।

प्यावसन र नेशनल प्यावसनको शुल्क असुल्ने निर्णय तत्काल फिर्ता को माग गर्दै संस्थागत विद्यालयका मर्का र जायज समस्या समाधानका लागि सरकारले जवाफदेही हुनपर्ने अर्को महामन्त्री युवराज पाण्डेले बताए ।

एक पटक पढ्नुहोस