‘हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो ?’

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभा सदस्य प्रकाश पन्थले हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै प्रश्न गरेका छन् ।  प्रधानमन्त्रीले बेला बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उनले हाँच्छ्यु गर्दा कोरोना निको हुने भए किन लक डाउन गरियो भन्ने प्रश्न समेत उनले तेर्स्याए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुले उहाँलाई भ्रममा पारेको समेत उनले बताए । पुष्टि नै नभएका कुराहरु सल्लाहकारहरुले प्रधानमन्त्रीलाई सुनाएर संसदबाट समेत प्रधानमन्त्री ओलीले जनतालाई भ्रममा पारेको उनको भनाई थियो । उनले भने– ‘कसले झुठा कुरा गरेर प्रधानमन्त्रीलाई भ्रममा पार्नुभयो ? पुष्टि नभएका खवरहरु कसले प्रधानमन्त्री ज्यूलाई सुनाउँछ ? हाँच्छ्यु साँच्छ्यु गरेर कोरोना जाने भए, लकडाउन किन गरिएको हो ? १० अर्ब किन खर्च गरिएको हो ?’

स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले पनि संघ प्रदेश सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरिरहेको उनले बताए । लामो समयदेखि आरडिटी परीक्षण बन्द गर्न सरकारलाई आग्रह गर्दा पनि नमाउनेको भन्दै उनले आरडिटी परीक्षण तत्काल रोकेर पीसीआरको दायरा बढाउनुपर्ने बताए । अत्यावश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति गरी, स्थानीय तहमा बनेका क्वारेन्टाइनहरुलाई मापदण्ड अनुसार व्यवस्थापन गर्न आग्रह गरे ।

सरकारले संविधानमा भएका कतिपय राजनीतिक सहमति विपरित विधेयकहरु ल्याउने गरेको भन्दै उनले राजनीतिक सहमतिहरु नतोड्न पनि आग्रह गरे ।

एक पटक पढ्नुहोस