द्वन्द्वकालीन घटनाहरुको समयमै व्यवस्थापन गर्न जोड, ९ हजार व्यक्तिको गोप्य सूची तयार

काठमाडौं । द्वन्द्वकालीन घटनाहरुको व्यवस्थापन समयमै गर्न नसके देश ठूलो संकटमा पर्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

संसदको महिला तथा सामाजिक समितिमा विज्ञहरुले संयुक्त राष्ट्रसंघले सम्पूर्ण गतिविधिहरु नजिकबाट नियालिरहेको उल्लेख गर्दै द्वन्द्वकालीन घटनाहरुको व्यवस्थापन समयमै गर्नुपर्ने बताएका हुन् ।

द्वन्द्वकालीन समयमा विभिन्न क्षेत्रका नेतृत्वकर्ताको गोप्य सूची संयुक्त राष्ट्र संघले तयार गरेकोले तत्काल संक्रमणकालिन न्यायलाई टुंगोमा पु¥याउन नसके देश संकटमा पर्ने सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व अध्यक्ष डा. सूर्य किरण गुरुङले बताए ।

सुरक्षा निकायका प्रमुख, निजामति सेवाका उच्च पदस्थ अधिकारी तथा द्वन्द्वकालीन समयका राजनीतिक नेताहरु लगायत ९ हजारको सूची संयुक्त राष्ट्रसंघले गोप्य रुपमा तयार पारेको उल्लेख गर्दै उनले समयमै संक्रमणकालिन न्यायलाई टुंगो लगाउन नसकिए देशमा संकट आउने बताए ।

संक्रमणकालिन न्यायलाई राज्यले फौजदारी कानूनका आधारमा अगाडि बढाउनु उपयुक्त नहुने उनले बताए । सही द्वन्द्व पीडित पहिचान गरी राज्यले आवश्यक सेवा सुविधा प्रदान गरी समस्या समाधानका लागि अगाडी बढ्नुपर्ने उनले बताए । जघन्य अपराध बाहेक अन्य घटनाहरु मेलमिलाप र क्षमादानका आधारमा अगाडि बढाउन सकिने उनले बताए ।

लैङ्गिक समानता तथा सामाजिक समावेशी विज्ञ पिङ्की सिंह राणाले परिवर्तनका लागि हजारौँले बलिदान दिएपनि अझै परिवर्तनको महशुस जनताले गर्न नपाएको बताइन् ।
ग्रामिण क्षेत्रमा जनताले परिवर्तनको महशुस गर्न नसक्दा पुनः द्वन्द्व उत्पन्न हुने चिन्ता उनले व्यक्त गरिन् ।

समिति बैठकमा सांसद नारायण खतिवडाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले खाटो बसेको घाउलाई निको बनाउनुको सट्टा उप्काउने काम गरिरहेको बताए । शान्ति प्रक्रियामा द्वन्द्व व्यवस्थापनका लागि कसरी अगाडि बढ्ने भन्ने कुराहरु अहिलेसम्म विज्ञहरुबाट आउन नसकेको उनले बताए ।
जुनसुकै व्यक्ति भएपनि द्वन्द्वकालीन घटनाका दोषीहरुलाई कारवाही हुनुपर्ने अर्का सांसद हिरा गुरुङको जोड छ ।   राज्यले अझै पीडितहरुलाई उचित राहत दिन नसकेको तथा हरेक क्षेत्रमा सेवा सुविधा र राहत दिनेगरी व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

शान्ति प्रक्रियाको लामो समय वितिसक्दा समेत द्वन्द्वकालीन घटनाहरु अझै व्यवस्थापन हुन सकेका छैनन् ।

एक पटक पढ्नुहोस