स्थानीय सरकार प्रमुखको गुनासो– क्वारेन्टिनमा बस्नै मान्दैनन् बाहिरबाट आएकाहरु

सिंजा । जुम्ला जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाको बैठकमा स्थानीय सरकारका प्रमुखहरुले सुरक्षा व्यवस्था कमजोर हुँुदा क्वारेन्टिनमा बस्न नमानेको गुनासो गरेका छन् ।

सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल क्वारेन्टिनमा सुरक्षा नभएका कारण भारतबाट भित्रिएका नागरिकले सहजै बस्न नमानेको बताउँछन् । ‘स्थानीय सरकार क्वारेन्टिन बनाउन तयार छ । सुरक्षा प्रबन्ध स्थानीय प्रहरी प्रशासनले गरिदिनु प¥यो,’ उनले भने, ‘सुरक्षा व्यवस्था हुन सकेमा स्थानीय तहले आफू अनुकुलको क्वारेन्टिन निर्माण गरि १४ दिनसम्म नागरिकलाई राख्न सक्छौँ ।’

स्थानीय सरकार प्रमुखले क्वारेन्टिनको सुरक्षा प्रबन्ध कडा पार्न माग गरेका थिए । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक भुपेन्द्र थापाले कोरोनाबाट संक्रमित भएको जुम्लालाई विशेष सुरक्षा रणनीति अवलम्बन गरि काम गर्ने तयारी भइरहेको जानकारी दिए ।

स्थानीय सरकार प्रमुखको गुनासो सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी थापाले भारत लगायतका तेस्रो मुलुकबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टिनमा राखिने बताए ।

‘लकडाउन खुकुलो भएको जनगुनासो छ,’ प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘सुरक्षा समितिको निर्णय अनुसार सुरक्षा व्यवस्था कडा बनाउँछौँ । क्वारेन्टिन व्यवस्थापनका लागि आवश्यक पर्ने सुरक्षाकर्मीको अभाव हुन दिनेछैनौँ । सबै मिलेर कोराना बिरुद्धको लडाईमा जुटौँ ।’

नागरिकले अवरोध गर्दैमा क्वारेन्टिन निर्माणको काम नरोकिने उनले बताए । नागरिककै सुरक्षाका लागि क्वारेन्टिन आवश्यक रहेको उनको भनाइ छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले क्वारेन्टिन स्थलमा आइसोलेसन बेड निर्माण गर्न स्थानीय सरकारलाई सुझाव दिए । संक्रमित बिरामी र अन्य व्यक्तिलाई सँगै राख्दा जोखिम झन् बढ्ने भएकाले संक्रमितका लागि आइसोलेसन बेड छुट्टै हुनुपर्ने उनले प्रष्ट पारे ।

प्रत्येक स्थानीय तहले छुट्टै क्वारेन्टिन निर्माण गरेमा प्रत्येक गाउँपालिकामा एक जना डाक्टर पठाउन सकिने उनले बताए ।

एक पटक पढ्नुहोस