चितवन राष्ट्रिय निकुञ्जमा गोहीका २२४ बच्चा थपिए

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २२४ वटा बच्चा कोरलिएका छन् । राप्ती र नारायणी नदी किनारमा सङ्कलन गरिएका अण्डाबाट ती बच्चा कोरलिएका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्तीका पाँच र नारायणीका चार वटा गुँडबाट ३३६ अण्डा सङ्कलन गरिएको थियो । अण्डा कोरल्नका लागि राखिएको ७० देखि ८० दिनमा बच्चा कोरलिने गर्दछ । गएको वैशाखमा ती अण्डा सङ्कलन गरेर प्रजनन केन्द्र परिसरमा राखिएको थियो । यस वर्ष अत्यधिक वर्षा भएका कारण प्लाष्टिकले ढाकेर अण्डा राखिएको थियो ।

निकुञ्जले राप्तीमा आठ र नारायणीमा पाँचवटा गुँड नदीमा छाडेको थियो । खड्काका अनुसार राप्तीमा ती गुँडबाट १३० बच्चा कोरलिएका छन् । नारायणीका सबै गुँडमा बच्चा निस्कने बेलामा भल गुँडमा पसेपछि सबै अण्डा क्षति भएको उनको भनाइ छ । यस वर्ष मौसम बच्चा कोरल्नका लागि उपयुक्त नभएको खड्काले बताउनुभयो । घाम र ताप आवश्यक हुने भए पनि वैशाखयता नियमित वर्षा भएकाले बच्चा कोरल्नका लागि उपयुक्त वातावरण नबनेको हो ।

हालसम्म एक हजार ५१५ गोही हुर्काएर विभिन्न नदीमा छाडिसकिएको छ ।  यस वर्ष राप्ती नदीमा ५० गोही छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदीमा गोही छाडिएको हो । गत वर्ष सोही क्षेत्रबाट १०० गोही छाडिएको थियो । विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन केन्द्रमा हुर्काएर हरेक वर्ष नदीमा छाड्ने गरिएको छ । नदीमा छाडिएकामध्ये राप्तीमा मात्र ८३५ गोही छाडिएको उनले जानकारी दिए ।
निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० गोही छोडिसकिएको छ । पछिल्ला वर्षहरुमा राप्तीमा मात्रै गोही छाडिने गरिएको छ । नदीहरुमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदूषण बन्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष राप्ती र नारायणी नदी किनारबाट गोहीको अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ । तीनै गोहीलाई हुर्काएर नदीमा छोडिन्छ । पाँचदेखि ६ वर्षसम्मका गोही नदीमा छाड्ने गरिन्छ । हाल प्रजनन केन्द्रमा माउ र बच्चा गरेर ५०० हाराहारी रहेको खड्काको भनाइ छ । प्रजनन केन्द्रमा रहेका गोहीले पारेका अण्डा भाले नलागेकाले बच्चा कोरलिएका छैनन् । केन्द्रमा एउटा मात्र भाले रहेको र त्यसमा प्रजनन क्षमता कमजोर भएको अनुमान गरिएको छ ।

बाँदरलाई तर्साएर लखेटिने

बाँदरले दुःख दिएपछि देवघाट क्षेत्र विकास समितिले तर्साएर लखेट्ने भएको छ । जसका लागि समितिले बाँदर धपाउने ११ यन्त्र खरिद गरिसकेको छ । समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार एउटालाई रु दुई हजार ८०० का दरले यन्त्र खरिद गरिएको छ । त्यस यन्त्रमा १० एमएल पानी र १० एमएल कार्वाइड राखेर पछाडिबाट लाइटर छिराएर सल्काएपछि चर्को आवाज आउने उनको भनाइ छ ।

यन्त्रलाई चलाउने विधिका बारेमा सिकाएर स्थानीय टोलहरुलाई वितरण गरिने घिमिरेले जानकारी दिए । उनका अनुसार हाल देवघाट र आसपासका क्षेत्रमा तीन हजारदेखि तीन हजार ५०० सम्म बाँदर रहेको अनुमान छ । घिमिरेले हरेक वर्ष ४०० भन्दा बढीले बच्चा जन्माउने गरेको बताए ।

समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार सो यन्त्रको चर्को आवाज आउने र बाँदर तर्सिएर भाग्ने छ । त्यस क्रममा निकै चर्को आवाज आउने भएकाले सञ्चालन गर्नेको कानको समस्या हुनसक्ने भएकाले पूर्णरूपमा तालिम दिएर मात्र यन्त्र स्थानीयवासीलाई दिइने छ । असार महिनामा तालिम दिएर साउनको पहिलो साताबाट काम थाल्ने तयारी गरिएको छ । बाँदरले बालीनाली ध्वस्त बनाएको, घरभित्र पसेर खानासमेत खाइदिने गरेको, १२ जनाभन्दा बढीलाई चिथोरेको र टोकेको उनले बताए ।

स्थानीयवासीले धेरै दुःख पाएपछि समितिले बाँदर नियन्त्रणका लागि प्रयास अघि बढाएको पौडेलले बताए । अन्य विभिन्न विकल्पमा काम गरेको भए पनि केही सीप नलागेपछि चर्को आवाज निकालेर तर्साएर लखेट्न लागिएको उनको भनाइ छ । समितिले बाँदरलाई खोरमा राख्ने, सङ्कलन गरेर अन्यत्र लगेर छाडिदिनेजस्ता काम गरेको भए पनि सफल हुनसकेको छैन ।

एक पटक पढ्नुहोस