१३ साउन, काठमाडौं । नेपालमा कोरोनाको सन्त्रास बढेदेखि नेपाली चलचित्र क्षेत्र सुनसान प्रायः छ । यद्यपि, यो सन्नाटामा पनि चलचित्रकर्मीहरुले सञ्चार माध्यमका ‘इन्टरटेनमेन्ट ब्यूरो’ लाई बिजनेसको कमी हुन दिएका छैनन् । चलचित्रकर्मीका एकपछि अर्को विवाद र स्क्यान्डलबाट सञ्चारमाध्यम मात्र होइन, सामाजिक सञ्जालले समेत खुराक पाइरहेको छ ।
सरकारले कोरोना रोक्नका लागि १० चैतमा देशव्यापी लकडाउन गर्यो । त्यसयताका चार महिना नेपाली चलचित्रका स्क्यान्डलमय बनेको छ । कुनै स्क्यान्डल एक–दुई दिनमा यत्तिकै सेलाए भने कुनैले राष्ट्रिय बहसकै रुप लिए ।
लकडाउनभित्र आएका स्क्यान्डल यस्ता छन् :
- रिमा विश्वकर्माले लकडाउनमा कालो चिया बनाउन सिकिन्
- नेपालले नयाँ नक्शा पारित गर्दा वर्ष राउतलाई आफ्ना भारतीय साथी रिसाउने चिन्ता
- पूजा शर्माले नेपालको अञ्चल र जिल्लाको संख्या बताउन सकिनन्
- अभिनेता भुवन केसीले आफूलाई कुदृष्टि लगाएको साम्राज्ञीको आरोप
- दिपाश्री निरौलाले राजेश हमालको महानायक उपाधिमा प्रश्न उठाइन्
- दुर्गेश थापाले नारायण गोपालको भन्दै भक्तराजको गीत गाए ।
यीमध्ये अरु सबै विषय लगभग सेलाए । तर, भुवन र साम्राज्ञीको विवादले चाहिँ नयाँ मोड लिएको छ ।
भुवन–साम्राज्ञी विवादको अप्रत्यक्ष कनेक्सन भारतीय अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणसँग छ ।
