काठमाडौँ – गत हप्ता देखि अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि काठमाडौं ल्याइएको छ ।
तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डा केसीलाई मंगलबार बिहान समिट एयरबाट जुम्लादेखि काठमाडौं ल्याइएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डा मंगल रावलले केसी आफैँ काठमाडौं जान मञ्जुर भएपछि काठमाडौं पठाइएको बताएका छन्। साथै केसीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रतिष्ठानका डा प्रविणलाई साथमा पठाइएको पनि उनले बताए। तर, डा. केसीले ‘जबरजस्ती’ अस्पतालमा स्थानान्तरण गरियो भन्दै आपत्ति जनाएका थिए।
अनशनस्थल जुम्लाबाट डा. केसीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका थिए, “सत्याग्रहको आठौं दिन हाम्रा मागहरू पूरा गर्न सरकारले कुनै प्रयास वा पहल गर्नुको साटो मेरो इच्छाविरुद्ध मलाई ठाउँ सारिएको छ, यसको म निन्दा गर्दछु ।”

काठमाडौँ ल्याइएपनि केसीले अनशन जारी नै राख्ने भएका छन्।
