१८ असोज, काठमाडौं । निजी प्रयोगशालाहरुले पीसीआर परीक्षणको शुल्क विवाद टुंगो लगाउने जिम्मा निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) लाई दिएका छन् ।
अफिनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेर नयाँ शुल्क निर्धारण नगरुञ्जेल भने निजी प्रयोगशालाले पनि पीसीआर परीक्षणको शुल्क २ हजार मात्र लिने भएका छन् । पीसीआर परीक्षण प्रयोगशाला पनि सञ्चालन गरिरहेको ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेर नयाँ शुल्क निर्धारण गर्ने अफिनको आग्रहपछि शुल्क विवाद टुंगो लगाउने जिम्मा अफिनलाई नै दिएको बताए । ‘अफिनको छलफलले पनि नयाँ शुल्क निर्धारण नगरे त्यसपछि के गर्ने भनेर सोच्छौं’ उनले भने ।
