काठमाडौं । गत आम निर्वाचनबाट प्रतिपक्षीको म्यान्डेट पाएको नेपाली काँग्रेस अर्को चुनाव नहुँदै कर्णाली प्रदेशको सत्तामा पुगेको छ । कम्युनिस्ट र मधेसवादी घटकले प्राप्त गरेको जनमत खण्डित भएपछि केन्द्रदेखि प्रदेशसम्म काँग्रेसको सत्ता यात्रा शुरु भएको हो ।
गत निर्वाचनमा गठबन्धन गरी बहुमत बटुलेका एमाले–माओवादीका साथै राजपा–समाजवादीसमेत विभाजनमा पुगेपछि काँग्रेसको सत्ता यात्रा तय भएको हो । पार्टी एकताबाट नेकपा बनेको तीन वर्ष नपुग्दै एमाले र माओवादी आ–आफ्नो बाटो लागेका छन् । त्यसमाथि एमालेमा उत्पन्न विद्रोहले काँग्रेसलाई राजनीतिक लाभ प्राप्त भएको छ ।
त्यसैगरी राजपा र समाजवादीबीच एक वर्षअघि एकता भई बनेको जसपा पनि नेकपाकै दिशामा उन्मुख भएको छ । यसले पनि काँग्रेसका लागि केन्द्रदेखि ७ वटै प्रदेशमा कतै नेतृत्व र कतै सहकार्यको ढोका खोलिदिएको छ ।
