काठमाडौँमा फेरी कहिले मेलम्ची खोलाको पानी आइपुग्छ भन्ने अनिश्चित भएको छ । गत असार १ गतेदेखि लगातार ३ दिन आएको बाढीले आयोजनाको मुख्य बाँधस्थलमा क्षति पुर्याएको छ । आयोजनाको मुख्य बाँध ‘हेडवक्स’ बाढीले ल्याएको ढुङ्गा माटोले पुरिएको छ भने सुरुङभित्र पानी पठाउने मुख्यद्वार पनि पुरिएको छ ।
मेलम्ची खानेपानी विकास समितिले अहिलेसम्म क्षतिग्रस्त क्षेत्रमा स्थलगत रूपमा पुगेर अध्ययन गर्न सकेको छैन । हेलिकोप्टर तथा ड्रोनबाट गरिएको अवलोकनबाट हेडवक्सका सबै संरचना पुरिएको, बाँधस्थल तथा पानी पठाउने मुख्यद्वार पुरिएकोले झन्डै २ अर्ब हाराहारी क्षति भएको अनुमान गरिएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले रातोपाटीलाई जानकारी दिए ।
उनले भने–‘हेडवक्स क्षेत्र करिब १० देखि १५ मिटर पुरिएको छ । नदी करिब १० मिटर पुरिएको देखिएको छ । नदी सफा काम गर्नेदेखि लिएर क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण गर्नका लागि करिब २ अर्ब जति रकम आवश्यक देखिन्छ ।’
यस्तै आयोजनामा काम गरिरहेको चिनियाँ निर्माण व्यवसायीलाई काम गर्न म्याद थप गर्ने समितिमा छलफल भएको छ । बाढीले निर्माण व्यवसायीको निर्माण उपकरणहरु पनि बाढीले बगाएको छ ।
प्रवक्ता पन्तले भने–‘यो काबुबाहिरको परिस्थिति भएको हुनाले निर्माण व्यवसायीको समय पनि थप गरिन्छ । उनीहरूलाई काम गराउन ठेक्का सम्झौता भित्रबाटै रहेर समय दिनुपर्छ ।’
आयोजना स्थलसम्म पुग्नका लागि यति बेला सडक सम्पर्क टुटेको छ । सडक तथा पुल बाढीले बगाएपछि वर्षायामभरी आयोजनास्थलमा गएर काम सुरु नहुने भएको छ । साउन भदौसम्म वर्षा हुने भएकोले असोजदेखि मात्रै आयोजना स्थलमा पुग्ने बाटो निर्माण हुने र त्यसपछि मात्रै पूर्ण रूपमा अध्ययन गरेर काम थालनी हुने भएको हो ।
सडकबाट आयोजनास्थल जोडिए पनि निर्माण उपकरण र निर्माण सामग्री बगाएकोले त्यसको प्रबन्ध गर्न पनि समय लाग्ने देखिएको छ । बाढीले कति निर्माण उपकरण बगायो त्यसको यकिन अवस्था थाहा पाउन नसकिएको प्रवक्ता पन्तले जानकारी दिए ।
उनले भने–‘निर्माण सामग्रीहरू, उपकरणहरू कति बगायो अहिलेसम्म थाहा पाउन सकिएको छैन । पैदल रूपमा त्यहाँ जान सक्ने अवस्था नभएकोले अहिलेसम्म हेलिकोप्टर र ड्रोनबाट मात्र अवलोकन भएको छ । माथि डाँडाबाट हेर्दा त्यहाँ कुनै पनि निर्माण उपकरण र निर्माण सामग्री छैनन् । निर्माण व्यवसायीले पनि कति क्षति भयो भन्ने विवरण अहिलेसम्म दिन सकेको छैन ।’
बाढीले क्षति पुगेको झन्डै १ महिना पुग्दा पनि आयोजना स्थलमा पैदल जान सक्ने अवस्था नरहेको उनले बताए । वर्षा, बाढी पहिरोको अनिश्चितताले त्यहाँ पुगेर क्षतिको अवस्था नजिकबाट हेर्ने अवस्था नरहेको र वर्षा पूर्ण रूपमा रोकिएपछि मात्रै प्रारम्भिक काम सुरु हुने उनको भनाई छ ।
उनले भने–‘वर्षा पूर्ण रूपमा रोकियो र त्यहाँ पुग्ने बाटो भने मात्र हेडवक्समा पुगेर अध्ययन गरेर, लगत इस्टिमेट निकालेपछि नयाँ काम कति गर्नुपर्छ भन्ने थाहा हुन्छ । स्थलगत रूपमा पुगेर प्राविधिकहरूले सर्वे गरेपछि मात्रै लगत इस्टिमेट आउने भयो । नयाँ काम गर्न नियम कानुनको परिधीमा रहेर काम गर्नुपर्छ । त्यसका लागि समय लाग्छ । त्यस कारण मेलम्चीको पानी काठमाडौँमा आउने कुरा पछि मात्र थाहा हुने भयो ।’
मुख्य सुरुङमा केही नभएको अनुमान
गत असार १ गते दिउँसो बाढी आउनु पूर्व नै सुरुङमार्गको ढोका बन्द गरिएका कारण सुरुङ मार्गमा क्षति नपुगेको अनुमान गरिएको छ । काठमाडौँमा पानी ल्याउनका लागि बाँधस्थलमा बनाइएको सानो सुरुङको मुख टालिएको छ । सुरुङभित्र कति क्षति भएको छ स्थलगत अवलोकनपछि मात्रै थाहा हुने प्रवक्ता पन्तको भनाई छ ।
आयोजनास्थल अम्बाथानमा रहेको पुल बगाएपछि त्यहाँ रहेको सुरुङको अडिट पोइन्टपनि टालिएको छ । सो क्षेत्रमा भएको क्षति पनि पछि मात्रै थाहा हुने भएको छ ।
बाढीको प्रभाव सकिएपछि असोजसम्म हेडवक्ससम्म पुगेपछि मात्रै स्थायी रूपमा कहिलेसम्म पानी काठमाडौँ ल्याउन सकिन्छ भन्नेबारे थाहा हुने भएको छ ।
गत चैत १५ देखि काठमाडौँ उपत्यकाको चक्रपथभित्रका क्षेत्रमा परीक्षणका रूपमा मेलम्चीको पानी वितरण थालिएको थियो । सुरुमा दैनिक ४ करोड लिटर पानी ल्याइएकोमा त्यसलाई बढाउँदै दैनिक ८ करोड लिटरसम्म पानी ल्याइएको थियो । वर्षौको प्रतीक्षापछि मेलम्चीको पानी काठमाडौँ आएपछि खुसी भएका काठमाडौंबासीले फेरी मेलम्चीको पानी पिउन केही समय पर्खनुपर्ने भएको छ ।
