पनौती/ राष्ट्र, राष्ट्रियताको रक्षा र समग्र पूर्व सुरक्षाकर्मीहरु तथा आश्रीत परिवारहरुको हकहितको लागि गठन भएको पूर्व सुरक्षाकर्मी परिषद् नेपाल काभ्रे अन्तर्गत पनौती नगर परिषद् गठन भएको छ ।
पूर्व सहायक रथि प्रा.डा. प्रेमसिंह बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मोहनकुमार बस्नेतको अध्यक्षतामा ३५ सदस्यीय पनौती नगर परिषद् गठन भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सहायक रथि प्रा.डा. बस्नेतले बहालवाला सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र राजनीतिक दल र तिका नेताहरुले राष्ट्रहितको पक्षमा काम गर्नु पर्नेमा जोड दिए ।

पूर्व सुरक्षाकर्मी एकजुट हुने हो भने वर्तमान अवस्थामा देशको रक्षा गर्न सक्षम हुने बताए । उनले यो परिषद् स्वतन्त्र गैर राजनीतिक संस्था भएको र पूर्व सुरक्षाकर्मीहरु तथा आश्रीत परिवारहरुको हकहितको लागि गठन जीकिर गरे ।उनले भने, ‘यो परिषद् कुनै पनि दलको पक्ष वा विपक्षमा नभएको समेत बताए ।
कार्यक्रममा परिषदका केन्द्रीय प्रवक्ता हेमशंकर गिरी र अध्यक्ष कोमलबहादुर राउतले नवगठित परिषदलाई शुभकामना दिँदै परिष्दको लक्ष्य र ध्यय अनुसार काम गर्न आग्रह गरे । परिषद् गठनको आवश्यकता र औचित्य पुष्टि गर्दै उहाँहरुले यो अभियान देशव्यापी हुँदै गएको बताउनुभयो ।

कार्यक्रममा पनौती नगरका पूर्व वरिष्ठ सुरक्षाकर्मीहरु राधव सिं थापा, चिरञ्जीवी कँुवर, मोहनप्रताप सिंह कार्की, दिर्घप्रतापसिंह कार्की लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा ज्येष्ठ पूर्व सुरक्षाकर्मी, दिवंगत पूर्व सुरक्षाकर्मीहरुका परिवार तथा आश्रीत परिवारबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलगायतलाई सम्मान गरिएको थियो ।
परिष्दको यसअघि बनेपा नगर र जिल्ला परिषद् गठन भइसकेको र काभ्रेका सबै स्थानीय तहमा परिषद् गठन प्रक्रियामा रहेको जिल्ला अध्यक्ष दिपक तिमल्सिनाले जानकारी दिए ।
