काभ्रे/जिल्लाको नमोबुद्ध नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा गठबन्धनतर्फका उम्मेदवारहरु विजयी भएका छन् । प्रमुखमा कांग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा निर्वाचित भएका हुन् । प्रमुखमा विजयी लामाले निकटम प्रतिस्पर्धी एमालेका राजन भुर्तेललाई ५ हजार ३ सय ८९ मतको अन्तरले पराजित गरेका हुन् ।
लामाले ११ हजार २ सय ११ र भुर्तेलले ५ हजार ८ सय २२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा निकटतम प्रतिस्पर्धीलाई १ हजार ६ सय ४४ मतले पछि पार्दै गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार रत्नबहादुर लामा निर्वाचित भएका छन् । लामाले ८ हजार १ सय ८७ र एमालेकी सम्झना लामाले ६ हजार ५ सय ४३ मत प्राप्त गरेकी छन् ।
नगरमा ५ वटा वडा कांग्रेसले जितेको छ भने एमालेले ३ वटा वडा जितेको र माओवादी केन्द्रले २ वटा वडा जिेतको छ भने एक वडा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नमोबुद्ध १ मा स्वतन्त्र उम्मेदवार प्रेम लामा, २ मा काग्रेसका कविराज श्रेष्ठ, ३ मा काग्रेसका रमेश तिवारी, ४ मा एमालेका अर्जुन कार्की, ५ मा काग्रेसका सूर्य तामाङ, ६ मा काग्रेसका टिका बहादुर केसी, ७ मा माओवादीका धर्मसिं लामा, ८ मा एमालेका शेरबहादुर तामाङ, ९ मा काग्रेसका विरबहादुर लामा, १० मा माओवादीका रामकृष्ण उपाध्यया र ११ मा एमालेका कृष्ण बहादुर तामाङ वडा अध्यक्ष जितेका छन् ।
नगरमा निर्वाचित प्रमुख उप प्रमुख दुबै जना ०७४ को निर्वाचनमा प्रमुख पदमा उम्मेदवार रहेका थिए । ०७४ मा नमोबुद्ध नगरपालिकामा प्रमुख, उपप्रमुख दुवै एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।
