पनौती/ काभ्रेको पनौती नगरपालिका–८ मल्पिमा रहेको भालेश्वर मावि जिल्लाकै उत्कृष्ठ विद्यायल मध्यको एक हो । शिशु कक्षा देखि १२ कक्षा सम्म पढाई हुने यस विद्यालयलाई सार्वजनीक सामुदायीक विद्यालयको नमुनाको रुपमा पनि लिइन्छ ।
अन्य विद्यालयहरुमा विद्यार्थी संख्या नपुगेर हैरान भैरहेको बेला यो विद्यालयमा विद्यार्थीको चाप यति बढेको छ की गत वर्ष २ सय २५ जना भर्ना हुन आएका विद्यार्थी फर्काइयो । यो वर्ष पनि भर्ना हुन आउने विद्यार्थीको चाप उत्तिकै छ ।
विद्यार्थी संख्या बढे संगै भर्नाको समयमा आर्थिक सहयोगको नाममा प्रति विद्यार्थी सात हजार रुपैया सम्म चन्दा लिएपछि अहिले आम गुनासो बढेको छ । सरकारी विद्यालयले गैरकानुनी रुपमा पैशा असुल गरेको आरोप लागेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसी भन्नुहुन्छ– दरबन्दी अपुग भएको कारण विद्यालयले नीजि स्रोतबाट दर्जनौ शिक्षक राख्नु परेको छ । निजी स्रोतबाट तलब खुवाउने गरि राखिएका शिक्षकको खर्च उठाउन अभिभावकहरुको निर्णय बमोजिम नै हामिले सहयोग स्वरुप २ हजार देखि ७ हजार रुपैया सम्म लिएका हौं ।
अध्यक्ष केसीका अनुसार यो शैक्षिक शत्रमा भर्ना गर्दा प्ले ग्रुप, नर्सरी र केजी सम्मले प्रति विद्यार्थि दुई हजार रुपैया सहयोग गर्नुपर्छ । एक देखी तीन कक्षा सम्मले २ हजार ५ सय सहयोग गर्नु पर्छ भने ४ र ५ कक्षामा भर्ना हुने विद्यार्थिले ३ हजार रुपैया सहयोग गर्नुपर्छ । यसैगरि ६ र ७ कक्षाका विद्यार्थि संग ४ हजार रुपैया लिइएको छ भने ८ कक्षाका विद्यार्थि संग ५ हजार रुपैया लिइएको छ ।
नेपाली माध्यमबाट अध्ययन गर्ने ९ र १० कक्षाका विद्यार्थि संग क्रमशः ४ हजार र ४ हजार ५ सय रुपैया सहयोग लिइएको छ भने अग्रेजी माध्यमबाट अध्ययन गर्ने विद्यार्थिबाट क्रमश ६ हजार र ७ हजार रुपैया लिइएको छ ।
सरकारी विद्यालयमा यसरी सहयोग रकम किन लिन प¥यो भन्ने बारेमा थप प्रष्ट्याउदै अध्यक्ष केसी भन्नुहुन्छ– विगत चारवर्ष देखि यहा विद्यार्थीको चाप यति धेरै बढेको छ की सरकारी दरवन्दीले धान्न सक्दैन । यो विद्यालयमा जम्म २१ जनाको दरवन्दी रहेको छ । निजि स्रोत बाट तलब खुवाउने गरि थप १० जना राखिएको छ ।
सरकारी तलब स्केल भन्दा निकै कम दिदा पनि वार्षिक २० लाखको व्ययभार थपिएको छ । विद्यार्थिलाई ल्याउने लैजाने दुईवटा स्कुल बस छ, जसको व्ययभार वार्षिक १० लाख थपिएको छ । अब नया भवनमा सरेपछि थप ७ जना कर्मचारी राख्नु पर्छ । विद्यालयलाई सरकारी स्रोतबाट आउने बाहेक वार्षिक करिब ५० लाखको व्ययभार विद्यालयको आन्तरिक स्रोतबाट मिलान गर्नुपर्ने भन्दै अध्यक्ष केसी नगरपालिका कार्यालयले पनि सहयोग गर्नुपर्ने बताउनु हुन्छ ।
भालेश्वर माविको पुरानो भवन भन्दा पाँचसय मिटर भित्र एडिबीको सहयोगमा ३६ कोठा रहेको तीनवटा भवन बनाइएको छ । नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत एउटा प्रशासनिक भवन बनेको छ । यहि कार्यक्रम अन्तर्गत सुविधा सम्पन्न चमेनागृह पनि निर्मााण हुदैछ । एक हजार विद्यार्थि क्षमताको भौतिक संरचना बनेपनि दरबन्दी मिलान हुन नसकेको कारण विद्यालयमा आर्थिक संकट पर्ने गरेको अध्यक्ष केसी बताउनु हुन्छ ।
बोर्डिङ स्कुलको भन्दा पनि गुणस्तरीय शिक्षा प्राप्त हुने भएकोले पनौतीको सबै क्षेत्रबाट विद्यार्थिहरु आउने गरेकोले विद्यार्थिको चाप बढेको उहाको भनाई छ । करिब २० लाख व्ययभार थपिएको बेला नयाँ भवनमा सरेपछि थपहुने कर्मचारीको लागि थप २०÷२५ लाख व्ययभार आन्तरीक स्रोतबाट कसरी मिलान गर्ने भन्ने संचालक समितिको अहिलेको मुख्य टाउको दुखाईको विषय बनेको अध्यक्ष केसी बताउनु हुन्छ ।
शिशु कक्षा देखि कक्षा ६ सम्म नौवटा कक्षा हुन्छ । कक्षा ७ र ८ मा दुई÷दुई सेक्सन छ । ९ र १० कक्षामा तीन÷तीन सेक्सन छ । यसरी कुल १९ सेक्सनको लागि दरवन्दी भने जम्म २१ जना मात्र रहेको भन्दै नगरपालिकाले केहि दरवनदी थप गरिदिने र केहि आर्थिक सयोग गर्ने हो भने अझ गुणस्तरीय शिक्षा दिन सकिने व्यवस्थापन समितिका अध्यक्ष केसी बताउनु हुन्छ ।
