बनेपा/ काभ्रेमा पाँचदेखि बाह्र वर्षमुनिका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ ।
असार ९ गतेदेखि १७ गतेसम्म जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनि उमेर समूहका ४४ हजार ६ सय ५६ जना बालबालिकालाई कोरोना भाइरस विरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाइएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम सेढाईले जानकारी दिए ।
सेढाईका अनुसार, आइतबार सम्म लक्षित जनसंख्याको ५० प्रतिशतलाई खोप लगाइसकिएको छ । जिल्लाको बनेपा, मण्डनदेउपुर, पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकामा भने सोमबार (आज) बाट मात्रै खोप लगाइनेछ ।
स्वास्थ्य कार्यालय काभ्रेको तथ्याकं अनुसार, ५ बर्षदेखि १२ बर्ष मुनिका बालबालिका बनेपामा ५ हजार ७ सय ८, बेथानचोकमा २ हजार १ सय ७७, भुम्लुमा २ हजार २ सय ५४, चौरीदेउरालीमा २ हजार ३ सय ८८, धुलिखेलमा ३ हजार १ सय ६५, खानीखोलामा ३ हजार ३६, महाभारतमा ४ हजार २८, मण्डनदेउपुरमा ३ हजार ६ सय ६५, नमोबुद्धमा ३ हजार ५ सय ४८, पनौतीमा ४ हजार ८ सय २४, पाँचखालमा ४ हजार २ सय २२, रोशीमा ४ हजार ४३ र तेमालमा १ हजार ५ सय ९८ जना छन् ।
विश्व स्वास्थ्य संगठनबाट समेत स्विकृती खोप लगाउँदा कुनै समस्या नहुने दाबी स्वास्थ्य सम्बद्ध अधिकारीको छ । केहीमा समस्या देखिए खोप केन्द्रमा नै तत्काल उपचारको व्यवस्था गरिएको पनि डा. सेढाईले जानकारी दिए । उनका अनुसार, खोप लगाएपछि केहीमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुन सक्दछ ।
विद्यालयमा सुचिकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइने उनले बताए । खोप केन्द्रमा कम्तीमा एक जना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित संख्याको आधारमा थप स्वास्थ्यकर्मी तथा दुई जना स्वयंसेवक र प्रति २ सय थप लक्षित संख्याको लागि थप एक जना स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ ।
डा. सेढाईका अनुसार, असार ९ गतेदेखि असार १७ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ । बालबालिकालाई खोप लगाउनका लागि काभ्रेमा मात्रै ६ सय ६६ खोप केन्द्र तोकिएका छन् । विद्यालयमा नै खोप केन्द्र स्थापना गरेर अभियान सञ्चालन गरिएको छ । विद्यालयबाहेक बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ ।
पाँच वर्षदेखि १२ वर्षमुनि उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाइने छ । अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा आएको थियो । देशभरि ३९ लाख बालबालिकालाइ ‘फाइजर बायोएनटेक’ खोप दिन लागिएको हो । सेढाईका अनुसार, ‘फाइजर बायोएनटेक’ खोप ९१ प्रतिशत प्रभावकारी मानिएको छ ।
