सुर्खेत/ पानीको फ्लो बढ्दा जलविद्युत आयोजनाको पावर हाउस भासिँदा जुम्लामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । हिमा गाउँपालिका–१ स्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिंदा पावर हाउसमा चौकीदार गरी बस्नेका परिवारको मृत्यु भएको छ ।
राति करिब साढे २ बजे आयोजनाको पावर हाउस भासिंदा तीन जनाको मृत्यु भएको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । उनका अनुसार मृत्यु हुनेमा पावर हाउसका चौकिदार गोरकबहादुर रावतकी श्रीमती ३०
वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ७ वर्षीय सूर्य रावत रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू तीनै जना पावर हाउसभित्र सुतिरहेका थिए । गोरक भने काम विशेषले बाहिर गएका थिए ।
शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको सहायक प्रजिअ रिजालले बताइन् ।
