सुरेन्द्र ताम्राकार
धनगढी / कैलालीमा तीन वर्षमा ७४६ जनाले आत्महत्या गरेका छन् । जिल्लामा पछिल्ला ३ वर्ष अर्थात आव ०७६/७७ देखि आव ०७८/७९ सम्म सो संख्याका मानिसहरुले आत्महत्या गरेका हुन् ।
सो अवधिमा झुण्डिएर र बिष सेवन गरेर आत्महत्या गरेका छन् । झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी रहेको छ । तीन वर्षमा ६०२ जनाले झुण्डिएर र १४४ जनाले बिष खाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र सिं साउँदले जानकारी दिए । 
आव ०७६/७७ मा २२२ जनाले आत्महत्या गरेका छन् । जसमा १७८ जनाले झुण्डिएर र ४४ जनाले बिष खाएर आत्महत्या गरेको प्रहरी तथ्यांक छ । आव ०७७/७८ मा आत्महत्या गर्नेको संख्यामा अघिल्लो वर्ष भन्दा बृद्धि भएको छ । आव ०७७/७८ मा २६५ जनाले आत्महत्या गरेका छन् । जसमा २०३ जनाले झुण्डिएर र ६२ जनाले बिष खाएर आत्महत्या गरेको जनाइएको छ ।
त्यसैगरी आव ०७८/७९ मा २५९ जनाले आत्महत्या गरेका छन् । जसमा २२१ जनाले झुण्डिएर र ३८ जनाले बिष खाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांक छ । आव ०७७/७८ मा भन्दा ०७८/७९ मा आत्महत्या गर्नेको संख्यामा थोरै कमी आएको छ ।
मानसिक अवस्था ठीक नहुनु,तनावलाई व्यवस्थापन गर्न नसक्नु,छोटो सोच राख्नेलगायतका कारणले आत्महत्याका घटना हुने गरेको प्रहरी निरीक्षक साउँदको भनाइ छ । आत्महत्या न्यूनिकरणका लागि बेला–बेलामा प्रहरीले समाजमा जनचेतनामुलक कार्यक्रम गर्दै आएको र राज्यका सबै निकायले यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
