After header

खानीखोलाका हटाइएका १९ कर्मचारीले बुझाए ज्ञापनपत्र

चरणबद्ध आन्दोलन गर्ने चेतावनी

खानीखोला .
काभ्रेको विकट भनेर चिँनिँदै आएको खानीखोला गाउँपालिकाले असार २९ गतेको बोर्ड बैठकको निर्णय भन्दै खानीखोला गाउँपालिकामा करार सेवामा कार्यरत कर्मचारीहरु लाई हटाएको छ । हटाइएका मध्ये १९ जना कर्मचारीले आइतबार ज्ञापन पत्र बुझाएका छन् । निमित्त प्रशासकिय अधिकृत विष्णु अधिकारी समक्ष १५ गते गाउँपालिकाको कार्यालय ताल्ढुंगा स्थितमा पुगेर ३ बुँदे माग र आन्दोलनको चेतावनी सहित ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र मा तीन दिन भित्र आफूहरुको माग सम्बोधन नभए चरणवद्व आन्दोलन गर्ने करार सङ्घर्ष समितिका उप संयोजक चन्द्र मगर ले बताएका छन् ।
ज्ञापन पत्र बुझ्दै निमित्त प्रशासकिय अधिकृत विष्णु अधिकारी ले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत आएपछि मात्रै थप कुराकानी अघि बढ्ने बताएका छन् । ज्ञापनपत्र गाउँपालिकाका अध्यक्ष र प्रमूख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै भनिएको छ । प्रस्तुत ज्ञापन पत्रको केही अंशः
हामी निरन्तर सेवामा रहेकै बेला हालै यस गाउँपालिकामा भएको एउटा घटना जुन मिति २०७९ साल आषाढ २९ गते यस गाउँपालिकाको बोर्डले गरेको निर्णय भन्दै अस्वाभाविक र पूर्व जानकारी (सूचना) बिना नै तपाईंलाई सेवाबाट निकालिएको छ भन्दै हाम्रो आ–आफ्नो विभाग (शाखा)का प्रमुख मार्फत फोन गरी तपाईंको करार अवधी साउन १ गतेबाट नथपिने व्यहोराको पत्र बनेको छ, पत्र बुझ्न र बुझ बुझारथ गर्न आउनु भन्दै सेवाबाट हटाइएको पत्र काटेको कुरा सुन्दा हामी चकित छौँ ।


हाम्रो खानीखोलो गाउँपालिकामा हामीले पु¥याएको योगदानको त कुरै छोडौँ, उल्टै गैर कानूनी धारबाट गाउँपालिकाको पेज र गाउँपालिकाको सूचना पाटीमा समेत नराखी, पूर्व जानकारी बिना कुनै कारण सिमित व्यक्तिको रोसमा गाउँपालिकालाई ढाल बनाएर हामी माथी ज्यादतीपूर्ण ढंगबाट प्राहार गरिएको घटनाप्रति हामी खेद प्रकट गर्दछौँ । यस्तो कार्यले पालिकाको सुशासनलाई व्यक्तिवादी स्वार्थ र प्रवृतिमा हावी भएको अनुभुत भएको छ । किनभने अधिकांश हटाइएको भनिएका करार सेवाका हामी साथीहरुलाई सुनियोजित ढंगबाट बदनियत राखी निकालिनु केवल सिमित व्यक्तिको रोस मात्रै रहेको हाम्रो ठहर छ । किनभने एकै पटक विज्ञापन गरी नियुक्ति बुझेका एउटै पदमा र विभागमा कार्यरत कर्मचारीको करार अवधि रहने अर्का सोही शाखाको सोही पदमा कार्यरत अर्काको करार सेवा अवधी सकिएको भन्नुको अर्थ के हुन सक्ला ? यसर्थ यस गाउँपालिकामा कार्यरत करार सेवाका हामी निम्न कर्मचारीहरुको करार सम्झौता समय थप नगर्ने सूचीमा नाम देखिएको हुँदा सोको निर्णयप्रति हाम्रो ध्यानाकर्षण भएको छ । त्यस बदनियतपूर्ण पूर्व जानकारी बेगर गरिएको निर्णयको पुनः विचार गर्दै तीन दिनभित्र हाम्रो माग र समस्याहरु समाधान गर्नका लागि यहाँहरुको कुशल नेतृत्वदायी र सम्पूर्ण कर्मचारीहरुको अभिभावकत्व गरिदिनुहुने अपेक्षा सहित हार्दिक अपिल गर्दछौँ ।


सेवा करारमा कार्यरत कर्मचारीहरुको कार्यसम्पादन, स्तर मूल्याङ्कन तथा नयाँ अवधिको लागि करार सम्झौता सम्बन्धी मापदण्ड २०७८ ले करार सम्झौतामा कार्यरत कर्मचारीहरुलाई जुनसुकै बेला पनि सम्झौता भङ्ग गर्नसक्ने भनिए तापनि करार सम्झौता २०७८ को परिच्छेद (४) मा नयाँ अवधिको लागि करार सम्झौता सम्बन्धी व्यवस्थामा कर्मचारीहरुको कार्य सम्पादन र स्तर मूल्याङ्कनका आधारमा मात्र कर्मचारी हेरफेर गर्न सकिने भनिएको छ । तर यहाँ कर्मचारीहरुको कार्यसम्पादन र स्तर मूल्याङ्कनको त कुरै छोडौं, कर्मचारीहरुलाई सुइको समेत दिइएको छैन ।


करार सम्झौता नहुन सक्ने परिच्छेद (४) मा स्पष्टसँग भनिएको छ कि कार्यसम्पादन स्तर मूल्याङ्कनमा ८०% भन्दा कम अङ्क ल्याएमा कार्य सम्पादन स्तर मूल्याङ्कनको लागि तोकिएको ढाँचा फाराम भरी तोकिएको समयभित्र तोकिएको पदाधिकारीसमक्ष पेश नगरेमा र निज कार्यरत दरवन्दीमा स्थायी कर्मचारी सरुवा भई आएमा वा लोकसेवा पास गरी आएमा भन्ने उल्लेख गरिएको छ । यो सबै कुरा मिति २०७९ आषाढ २९ गतेको निर्णयसँग मेल खाँदैन ।
तसर्थ हामीलाई सेवाबाट हटाउने स्पष्ट आधार, कारण नभएको र करार सेवामा रहनुपर्ने हाम्रो आधारहरु समेत यसै ज्ञापनपत्र मार्फत पेश गरेका छौँ । कागजातको अध्ययन सहित त्यसको जवाफ र समस्या हल गर्ने कुरामा हामी जुनसुकै तरिकाबाट सहयोग गर्न तयार रहेको पनि अवगत गराउँछौँ ।
माथि उल्लेखित तथ्यहरुको आधारमा यदि करार सम्झौता हुँदैनथ्यो भने यस खानीखोला गाउँपालिकामा कार्यरत हामी सम्पूर्ण करार कर्मचारीहरुको पनि करार सम्झौता नहुनुपर्ने हाम्रो बुझाई हो । तर यहाँ राम्रा कर्मचारीलाई नभई हाम्रा कर्मचारीलाई संरक्षण गर्ने मनसाय देखिएको हुँदा फेरि पनि मिति २०७९ आषाढ २९ को निर्णयलाई पुनर्विचार गरिदिनु हुन अनुरोध गर्दछौं ।
मागहरुमा
बुँदा नं.१ बर्षाैँदेखि करार सेवामा विभिन्न शाखाको विभिन्न पदमा रही सो गाउँपालिकाको विभिन्न क्षेत्रहरुमा काम गर्दै आएका हटाइएको भनिएको सम्पूर्ण कर्मचारीलाई अबिलम्ब म्याद थप गरि सेवामा स–सम्मान फर्काउनुपर्ने ।
बुँदा नं. २ हटाइएको कर्मचारीको ठाउँमा अर्काे राख्ने गरि गरिएको बिज्ञापन तुरुन्तै रद्द गर्नुपर्ने ।
बुँदा नं. ३ कर्मचारी माथी गरिएको अनेकखाले ज्यादती र विभेदपूर्ण नीतिहरुको अन्त्य गर्दै समान व्यवहार प्रदर्शन गर्नुपर्ने ।
ज्ञापनपत्रमा माग राखिएको छ ।

ज्ञापन पत्र बुझ्दै निमित्त प्रशासकिय अधिकृत विष्णु अधिकारीले आफूले यो पत्र दर्ता गरि बजारबाट गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत आएपछि मात्रै थप कुराकानी अघि बढ्ने बताएका छन् ।

एक पटक पढ्नुहोस