After header

दार्चुला बाढी अपडेट : १० जना बेपत्ता,५ को मृत्यु,८ जना घाइते

धनगढी / दार्चुलामा शुक्रबार रातीदेखि आएको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोका कारण जिल्ला विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएको छ । जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा हालसम्म ५ जनाको शव फेला परेको र १० जना अझै बेपत्ता रहेको जिल्ला प्रहरीे कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक जगत गाहमगरले जानकारी दिए । 

मृतक जिल्लाको नौगाड गाउँपालिका–१,सल्ला की ३५ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना, वडा नम्बर–२ का ६८ वर्षीय मोहनराम पार्की र महाकाली नगरपालिका–३ डुङ्रीकी ३५ वर्षीया मानमती कार्की,वडा नं. २ मैखोलीका ७७ वर्षीय नन्दराम बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बाढीपहिरोमा परी ८ जना घाइते भएको भएका छन् । घाइते हुनेमा जिल्लाको नौगाड गाउँपालिका–१ सल्ला बस्ने बिरे ठगुन्ना ,रम्भा ठगुन्ना, फागुनी ठुगुन्ना, जयबहादुर ठगुन्ना,महाकाली नगरपालिका–२ मैखोलीका ६४ बर्षीय हर्कसिंह शाहु वडा नं.–४ का अमरसिंह पार्की,मुसि पार्की र नौगाड –६ का बर्ष ३० का राम टमाटा रहेको प्रहरीले जनाएको छ । घाइतेको उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी जिल्ला अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बेपत्ता हुनेमा महाकाली नगरपालिका–३ डुङ्ग्रिका धनसिंह कार्की,निजकै छोराहरु दीपक कार्की र दिनेश कार्की,वडा नं. २ कि मानमती शाहु, दुहुँ गाउँपालिका घर भई हाल महाकाली नगरपालिका–१ लास्कु पारी डेरा गरी बस्ने बर्ष ३२ कि मन्जु लुहार,बर्ष २७ को दिनेश लुहार,बर्ष ३ कि डल्ली लुहार,बर्ष २५ को साजन लुहार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

त्यसैगरी बाढीपहिरोबाट महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा २ सय ६३ चौपाय क्षति, ४२ घर पूर्णक्षति , ९ मा आंशिक क्षति र ४० घर जोखिममा रहेका प्रहरीले जनाएको छ । १ विद्यालय पूर्ण क्षति , १ आंशिक र १ जोखिम , १ विद्युत पावर हाउस पूर्ण क्षति, २ झोलुङ्गे पुल,१ मोटरेवल पुल पूर्ण क्षति भएको, ६ जिप, १ कार १ ट्याक्टर बाढीमा वेपत्ता भएको जनाइएको छ ।

एक पटक पढ्नुहोस