प्युठान/ लगातारको वर्षाका कारण जिल्लाको माण्डवी गाउँपालिका–४ फरिण्डेमा पहिरोले घर पुरिदा ६ जना बेपत्ता भएका छन् । स्थानीय बोम बहादर राहुँमगरको घर सहित चार घर पहिरोले पुरिएको वडा अध्यक्ष डिल बहादुर घर्तिले जानकारी दिएका छन् ।
शुक्रबार दिउँसो पहिरोमा घर पुरिएर बेपत्ता हुनेहरुमा ६० वर्षीय बोम बहादुर राहुँ, उहाँको श्रीमती(नाम खुल्न बाँकी), २१ वर्षीय टेकी राहुँमगर, ४ वषीय सुशान राहुँ, ६० वर्षीया हिरा बहादुर थापा र १८ वर्षीया मौषमी थापामगर रहेको गाउँपालिका अध्यक्ष रोशन अधिकारीले जानकारी दिए ।
पहिरोले घर पुरिएको खवर प्राप्त भएपछि घटना स्थलमा जिल्लाबाट प्रहरीको टोलि हिडिसकेको प्रहरी निरीक्षक सुशील थापा मगरले बताए । अहिले घटना स्थालमा स्थानीय जनता जनप्रतिनिधिको सहयोगमा बेपत्ताको खोजी कार्य भैरहेको अध्यक्ष अधिकारीले बताएका छन् । ठुलो पानी परिरहेकोले उद्धारमा समस्या भएको उनको भनाइ छ ।
त्यस्तै प्रहरीका अनुसार माण्डवी १ स्थित अरङ खोलाले ३५ वर्षीय धन बहादुर सुनार बगाउँदा बेपत्ता भएका छन् । यसअघि दशैको दिन ऐरावती–५ जाडीखोलाले बगाएका ५ वर्षीय सुसन सुनार फेला अझै परेका छैनन ।
