जनकपुरधाम/ जन्ती बोकेको गाडी दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाकारी दिएको छ । मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् भने ९ जना घाइते भएका छन् ।
महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट जन्ती लिएर इटहरी फर्किँदै गरेको जीप शनिबार बिहान साढे ४ बजे धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी ३५ वर्षीया रुवी साह, महोत्तरी पिपरा गाउँपालिका–२ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी–बहिनी १३ वर्षीया सृजन साह र १८ वर्षीया मञ्जु साह तथा सवारी चालक धनुषाको धनौजी गाउँपालिका–४ का २५ वर्षीय अब्दुल मन्सुर छन् ।
जन्ती बोकेको जीपलाई ठक्कर दिने ज १ च १४९६ नम्बरको माछा बोकेको पिकअप भ्यान र चालक इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी दिपक रायले जानकारी दिए ।
