After header

थापाले बागमती प्रदेशको पदभार सम्हाले

तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी अगाडि बढ्छु ः डिआईजी थापा

हेटौंडा / नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) दीपक थापाले बागमती प्रदेश प्रहरी कार्यालयको प्रहरी प्रमुखका रूपमा आज बिहिबार पदभार सम्हालेका छन् । उनले तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्तिसुरक्षा कायम गर्ने, वस्तुनिष्ट अपराध अनुसन्धान गर्ने, विगत देखि पेण्डिङमा रहेका मुद्धाहरुको अनुसन्धान गर्ने, फरार अपराधी पक्राउ गर्ने, प्रहरी कर्मचारीको मनोवलमा बृद्धि गरी कार्यमा लगाउन उत्प्रेरणाका क्रियाकलाप संचालन गर्ने लगायतको विषयहरु प्रमुख प्राथमिकताक राखेर आफुले काम गर्ने बताएका छन् ।

राजनीतिक दबाबका कारण अपराधीले उन्मुक्ति पाउनु हुदैन’ भन्दै प्रहरी अधिकृत दबाबमा प¥यो भने सुरक्षा अवस्था माथि खल्ल आउने भएकोले आफुले त्यस्तो हुन नदिने बताए । डीआइजी थापाले बागमती प्रदेशको जिम्मेवारी चुनौतीपूर्ण रहेको भन्दै त्यसलाई अवसरका रुपमा परिणत गर्ने प्रतिवद्धता जनाउदै अहिलेसम्मको साखलाई जोगाउने गरी काम गर्ने बिश्वास दिलाए । प्रचलित ऐन र कानुनको अधिनभित्र रहेर कानुनी कठोरता र व्यवहारमा नरमता लागु गर्ने र प्रदेशभर सुरक्षित गर्ने काममा अहोरात्र खटिने प्रतिबद्धता ब्यक्त गरे ।

उनले प्रदेशको सुरक्षा संयन्त्रलाई मजबुत बनाएर गुण्डागर्दी नियन्त्रण गर्ने दाबी गरे । उनले प्रदेशमा रहँदा सकेसम्म राम्रो गर्ने नसके नराम्रो एउटा पनि हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे । राजनीतिक दबाबलाई म दबाबको रुपमा लिन्न’, उनले भने, ‘दबाबलाई आग्रहको रुपमा लिएर कानुनले निर्देशित गरे बमोजिम नै आफ्नो काम अगाडि बढाउने छु ।’ उनले दण्डहिनताको अन्त्यको लागि आफूले कसैसँग सम्झौता नगर्ने बताए ।

‘दण्डहिनता अन्त्य गरी प्रदेशभरलाई जोगाउने जिम्मा मेरो काँधका आएको छ ’, डिआइजी थापाले भने, सबैसँग सहकार्य गरेर दण्डहिनताको अन्त्य गरी कानुनी शासन स्थापित गराउने छु ।’ कानुन भन्दा बाहिर गएर कुनै पनि काम गर्न नमिल्ने भन्दै दबाबमा परेर कुनै काम नगर्ने उनको भनाई थियो । उनले आफू प्रदेश प्रहरी कार्यालय आए लगतै जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयका प्रमुखहरुलाई सुरक्षा स्थितिलाई मजबुत बनाउन समेत निर्देशन दिइसकेको जानकारी दिए ।

सरकारले गरेको डीआईजीहरुको पछिल्लो सरुवाबाट नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत डिआइजी थापाले बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा जिम्मेवारी पाएका हुन् । प्रदेश प्रहरी प्रमुखका रूपमा रहेका उनले अब मकवानपुर सहित बागमती प्रदेश अन्तर्गतका १० जिल्लाको नेतृत्व सम्हाल्न पाउने भएका छन् ।

बिहीबारदेखि हाजिर भएर प्रदेश प्रहरी प्रमुखको नेतृत्व एवं कार्यभार सम्हालेका थापालाई प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश प्रहरीको अवस्था तथा समग्र कार्यसंचालन बारेमा संक्षिप्त प्रस्तुतीकरण गरेका थिए ।

एक पटक पढ्नुहोस