After header

मृत्यु भइसकेका व्यक्तिको खातामा सामाजिक सुरक्षा रकम निकासा

तनहुँ । तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेको छ ।

गत आर्थिक वर्ष ०७८/७९ मा जिल्लाका विभिन्न पालिकाले ५ लाख २५ हजार २ सय ३३ मृत्यु भएका व्यक्तिको खातामा पठाएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । देवघाट गाउँपालिकाले २४ हजार ४ सय, घिरिङ गाउँपालिकाले १ लाख ३५ हजार ९ सय ८०, भानु नगरपालिकाले ५३ हजार ६ सय १०, आँबुखैरेनी गाउँपालिकाले २४ हजार ४ सय, बन्दीपुर गाउँपालिकाले २४ हजार १ सय ३१, भीमाद नगरपालिकाले २९ हजार ३ सय १४, ऋषिङ गाउँपालिकाले १ लाख १६ हजार ६ सय ३० र शुक्लागण्डकी नगरपालिकाले १ लाख १६ हजार ७ सय ५८ रुपैयाँ मृत्युपश्चात् भुक्तानी गरेको छ ।

सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएमा उक्त लाभग्राहीलाई भत्ता पाउने सूचीबाट हटाई मृत्यु भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था भएकामा स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई पनि रकम निकासा गरेकाले त्यस्तो कार्य सुधार गर्न सुझाव दिइएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ११ (२) मा कुनै लाभग्राहीको मृत्यु भएमा, एकल महिला लाभग्राहीले विवाद गरेमा वा ऐन, नियमावली तथा कार्यविधि बमोजिम लगत कट्टा हुनुपर्ने लाभग्राहीको हकवाला वा प्रचलित कानून बमोजिमको सूचकले सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा त्यस्तो घटना भएको ३५ दिनभित्र घटना दर्ता गराउनुपर्दछ । यसरी घटना दर्ता गर्दा लाभग्राही विवरणसमेत अद्यावधिक गरी लगत कट्टा गर्नुपर्ने प्रावधान छ ।

एक पटक पढ्नुहोस