After header

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज फैसला हुने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज फैसला हुने भएको छ । उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतबाट आजै फैसला हुने लगभग निश्चित जस्तै छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा शुक्रबार सुनुवाइ हुने भएको हो ।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । लामिछानेले विदेशका प्रतियोगितामा भाग लिन जान अनुमतिसमेत पाएका छन् ।

उनीविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा लगातार तीन दिन यता सुनुवाइ भइरहेको छ । प्रतिवादीतर्फबाट बहस सकिए मुद्दाको फैसला आजै हुने छ । बिहीबार पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको बहस नसकिएकाले त्यसलाई आज पनि निरन्तरता दिइनेछ ।

त्यसपछि सन्दीपकै तर्फबाट अधिवक्ता सरोजकृष्ण घिमिरेले पनि बहस गर्ने छन् । यसपछि जाहेरवाला र सरकारी वकिलले जवाफी बहस गर्नेछन् । त्यसका लागि एक घण्टाको समय तोकिएको छ ।जवाफी बहस सकिएपछि अदालतले फैसला सुनाउनेछ ।

एक पटक पढ्नुहोस