After header

सित लहरले प्रभावित बन्दै तराई

काठमाडौं । प्रतिकूल मौसमका कारण भैरहवासहित तराईका चार विमानस्थलको उडान प्रभावित भएको छ । तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कमजोर हुदाँ त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता सुवास झाले बाक्लो हुस्सु÷कुहिरोका कारण तराईका विमानस्थलहरु सिमरा, जनकपुर, भरतपुर र भैरहवाको उडान प्रभावित भएको हो । ती चार विमानस्थलमा शनिबार कुनै उडान भएनन् । भैरहवा विमानस्थलमा शुक्रबार पनि कुनै आन्तरिक उडान भएन ।

शुक्रबार नै प्रतिकूल मौसमका कारण धेरैजसो विमान कम्पनीले निर्धारित उडान रद्द गरेका थिए । विशेषगरी हिउँदमा तराईका विमानस्थलमा बाक्लो हुस्सु लाग्नाले आन्तरिक उडान प्रभावित हुने गरेको छ ।

दुई दिनदेखिको शितलहरले बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेका छ । दिनभरी बाक्लो हुस्सु लागेको छ ।

चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ भने सडकमा सवारीसाधन कम चलेका छन् । नेपालगञ्जमा हरेक दिन बिहान दुई घण्टा शीतलहर चल्न थालेको छ । ‘बिहानैदेखिको हुस्सुले अत्यधिक चिसो भएको छ,’ नेपालगञ्जका स्थानीय रामसुहावन यादवले भने, ‘निरन्तरको चिसोले गर्दा घरभन्दा बाहिर निस्किने सकिएको छैन ।’ यहाँका मान्छेहरू अत्यावश्यक काममा बाहेक अरू अवस्थामा बाहिर निस्केका छैनन् ।

अत्यधिक चिसोले गर्दा दैनिक ज्यालादारी काम गर्नेहरू बढी मारमा परेका छन् । उनीहरू काममा जान पाएका छैनन् । चिसोले गर्दा काममा जान नपाएको बाँके डुडुवा गाउँपलिका–४ का मजदुर रामदिन गोडियाले भने, ‘काम नगर्दा परिवार चलाउन मुस्किल पर्छ, केही दिन यस्तै चिसो रह्यो भने समस्या हुने देखिन्छ ।’

चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब, असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन । चिसोकै कारण बिरामी बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् ।

भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका फिजिसियन डा.संकेत रिसालले बताए । चिसोले गर्दा बालबालिका, दीर्घरोगीलाई समस्या भएको छ । केही दिनअघि बिहान बाक्लो हुस्सु लाग्ने गरेको भए पनि दिउँसो मौसम सफा हुँदै गएको थियो, तर दुई दिनदेखि निरन्तर घाम नलागेपछि चिसो बढेको छ । शुक्रबारदेखि पश्चिम तराईमा सुरु भएको शितलहर शनिबार मधेश प्रदेश पनि प्रभावित बनेको हो ।

एक पटक पढ्नुहोस