काभ्रे । पोलियो विरुद्धको खोप लगाउन छुटेका बालवालिकालाई काभ्रेमा जेठ १३ गते देखि २६ गते सम्म खोप लगाउने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
जिल्ला खोप समन्वय समितिको आयोजनामा आयोजित अन्र्तक्रिया कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाका २०७३ बैशाख देखि २०७५ असोज महिना भित्र जन्मिएका सबै बालबालिकाहरुलाई पोलियो विरुद्धको आईपिभि खोप लगाईने कार्यालय प्रमुख रागी श्री कक्षपति श्रेष्ठले जानकारी गराईन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले १३ वटै स्थानिय तहमा छुट भएका बालवालिकाहरुलाई खोप लगाउनको लागि सबैखाले तयारी पुरा गरिएको शुक्रबार पत्रकार भेटघाटमा कार्यालय प्रमुख कक्षपतिले जानकारी दिईन् । २०७३ साल बैशाख देखि २०७५ साल असोज सम्म जन्म भएका बालवालिकाहरुलाई पोलियो विरुद्धको खोप दिने उनले बताईन् ।
सुई बाट दिने पोलियो विरुद्धको खोप (आइपिभी) २०७३ जेठ देखि २०७५ भाद्रसम्म नेपालमा आपुर्ति बन्द भएको कारण उक्त उमेर समुहका बालवालिकालाई खोप लगाउने अभियान रहेको कक्षपतिले बताईन् ।जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपानेकाले काभ्रेमा १७ हजार ७ सय ५९ बालवालिकालाई खोप लगाउने अभियान रहेको बताए ।
खोप अभियान जिल्ला भर संचालन हुने खोप केन्द्रका लागि २ सय ६१ खोपकर्मी र ५ सय ११ शिक्षकलाई अनुशिक्षण कार्यक्रम सकिएको उनले बताए ।मुखबाट खुवाइने पोलियो विरुद्धको खोप (ओपीभि) को परिपुरकको रुपमा २०७१ असोजबाट नेपालमा सुईबाट लगाइने पोलियो विरुद्धको खोप (आइपीभि) लगाउन शुरु गरिएको थियो ।

५ बर्ष मुनिका बालवालिकालाई पोलियोको जोखिम बढी हुने र पोलियो लागेमा बालवालिकामा पक्षघातको जोखिम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जनस्वास्थ्य कार्यालय प्रमुख रागि श्री कक्षपती श्रेष्ठ, खोप अधिकृत पार्थमणी न्यौपाने, डब्लुएचओका प्रतिनिधी लगायतले पोलियो विरुद्धको आई.पि.भि खोप र त्यसको प्रभावकारीता तथा आवश्यकताका बारेमा जानकारी गराएका थिए ।
