काभ्रे । लगातार परेको पानीका कारणले यतिबेला सडक अवरुद्ध हुन थालेको छ । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गएरातिदेखि सडक अवरुद्ध भएको छ ।
अविरल वर्षापछि पहिरो जाँदा अरनिको राजमार्ग पाँचखाल नगरपालिका(८ स्थित सडकमा पहिरो खसेर करिब १५० मिटर सडक अवरुद्ध भएको हो । गएराति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन् । सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । साना सवारीसाधनलाई वैकल्पिक बाटोबाट पठाएको प्रहरीले जनाएको छ ।

भारी वर्षापछिको बाढीपहिरालगायत विपद्का कारण मुलुकका विभिन्न २० ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । देशका २० वटा राजमार्गमा यातायात अवरुद्ध भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार कालिकोटको कर्णाली राजमार्ग, सुर्खेतको मदन भण्डारी राजमार्ग, सिमकोट हुम्लाबाट नाम्खा जानेबाटो, जाजरकोट सडकखण्ड, कर्णाली करिडोर, सुर्खेत–दैलेख सडकखण्ड, कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा पहिरोको कारण बन्द रहेको छ ।
