काभ्रे । मनसुनजन्य विपद्मा काभे्रपलाञ्चोकका पाँच हजारभन्दाबढी परिवार प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिले जिल्लामा हुनसक्ने बाढी–पहिरो, चट्याङ तथा हावाहुरीजस्ता मनसुनजन्य विपद्का घटनाबाट साढे पाँच हजार घरपरिवार प्रभावित हुनेसक्ने अनुमान गरिएको जनाएको छ ।
समितिको बैठकमा समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले जिल्लामा मनसुनजन्य विपद्का विभिन्न घटनाबाट जिल्लाका पाँच हजार पाँच सय ९९ घरपरिवारका २६ हजार एक सय ७९ नागरिक प्रभावित हुनेसक्ने अनुमान गरिएको बताए ।
उनका अनुसार काभे्रपलाञ्चोकमा बाढी–पहिरो, डुबान, चट्याङ र हावाहुरीको जोखिम रहेको छ । सोहीअनुसार स्थानीय तहका विपद् ब्यवस्थापन समिति तथा सरोकारवाला निकायसँगको सहकार्यमा पूर्व तयारी तथा प्रतिकार्यमा खट्न ब्यवस्थापनमा लागिएका सेढाईंले जानकारी दिए । “विपद्जन्य घटनाबाट घरपरिवार तथा बस्ती स्थानान्तरण गर्नुपर्नेसम्म हुनसक्छ, त्यसका लागि पूर्व तयारीमा जुट्नुपर्छ”, उनले भने ।
यस्तै सुनकोशी, इन्द्रावती र रोशी खोला तथा स–साना खहरे खोलामा आउनसक्ने बाढीका कारण नागरिक तथा यातायातका साधन प्रभावित हुनसक्ने सुमितिले जनाएको छ । जिल्लामा बाढीका कारण एक हप्तामा तीन बालबालिकासहित पाँच मृत्यु भएको छ । काभे्रपलाञ्चो अन्र्तगत पर्ने अरनिको र विपी राजमार्ग हप्तादेखिको अबिरल बर्षाका कारण पहिरो गएर पटकपटक अबरुद्ध हुँदै आएका छन् ।
बैठकले घटनामा राहत तथा पुनःस्थापनाका लागि विपद् कोष परिचालन गर्ने, राहत तथा उद्धारका लागि आवश्यक सामग्रीका लागि जिल्ला आपत्कालीन सञ्चालन केन्द्र र समितिसँग समन्वय गरी सामग्री खरीद गरी तयारी अवस्थामा राख्न तथा स्थानीय तहलाई स्थानीयस्तरमा खुल्ला क्षेत्र र ठूलो भवन ब्यवस्थापन गर्न समन्वय गरी तयारी अवस्थामा राख्न अनुरोध गर्ने निर्णय गरेको छ ।

यसैबीच विपद्जन्य घटना–अवस्थाको व्यवस्थापन गर्न जिल्लास्थित स्थानीय तह तथा सुरक्षाकर्मीद्वारा आपत्कालीन–विपद् पूर्व तयारीस्वरुप पाँचखालमा रहेको शसस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटरले विपद् प्रतिकार्यको लागि धुलिखेल र पनौतीस्थित आइटीपार्कमा ‘अस्थायी बेश’ बेस राखेको छ । धुलिखेल र आईटी पार्कमा निर्माणाधीन सुरक्षण मुद्रण प्रेस भवनमा बसेको टोलीले जिल्लाको मुख्य सहर बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध लगायत आसपासका स्थानीय तहमा हुने मनसुन–विपदमा उद्धार गर्ने छ ।
उद्धार सामग्रीसहित शसस्त्र प्रहरी निरीक्षककको नेतृत्वमा २५÷२५ शसस्त्र प्रहरी टोलीलाई उद्धारमा खटिन तयारी अवस्थामा राखिएको हो । गृह मन्त्रालयको निर्णय अनुसार पाँचखालमा रहेको हेडक्वाटरबाट रेखदेख तथा सञ्चालन हुने गरी उद्धारमा खटिनुपर्दाको अवस्थामा सडक र दुरीका हिसावले पायक पर्ने स्थानमा छनोट गरी दुई स्थानमा अस्थायी बेश राखिएको जिल्लास्थित विपद व्यवस्थापन समितिले जनायो ।
जिल्लास्थित नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलले यस बर्ष सामुदायिक विपद् प्रतिकार्यका लागि काभ्रेपलाञ्चोकको १३ मध्ये १० स्थानीय तहमा ८० सामुदायिक विपद प्रतिकार्य तालिम दिई विपद् प्रतिकार्य जनशक्ति तयार पारेको छ । तालिममा ‘विपदको परिचय र विपद व्यवस्थापन चक्र, विपद् प्रतिकार्यको लागि आवश्यक सामाग्री, सिप तथा कला, बाढी,–पहिरो, डुबान, आगलागी जस्ता विपद्का घटनाको दौरान उद्धार गर्ने तरिका, प्राथमिक उपचार, स्थानीय स्रोत–साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्ने विधि र विपद्को समयमा आधुनिक उपकरणको प्रयोगका बारेमा जानकारी गराइएको गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जानकारी दिए ।
काभ्रेपलाञ्चोकका अधिकांश भू–भाग पहाडी क्षेत्र, जिल्ला भएर बग्ने तीन ठूला नदी विपद्को हिसावले जोखिमयुक्त मान्दै आइएको छ । यस्तै वर्षायाममा पहिरोको जोखिम, पुराना घर, बजार क्षेत्रमा बाक्लो बस्ती तथा जङ्गल इलाका धेरै भएकाले हुनसक्ने आगलागीका घटना हुँदै आएको घटनाक्रमले देखाएको छ ।
विपदका घटनामा तत्काल उद्धारकर्मी पुग्न सम्भव नहुँदा कयौ मानिसको ज्यान सक्ने सम्भावनालाई न्यूनीकरण गर्न स्थानीयद्वारा नै प्रतिकार्य गर्न सक्ने क्षमताको विकास गर्न तालिम दिइएको सिंहले बताए । उनका अनुसार विपद्का क्रममा उद्धारकर्मीको उपस्थिति विना स्थानीयद्वारा ‘फस्ट रेस्पोन्डर’ का रुपमा स्थानीय तहका युवालाई क्षमताको विकास गरिएको हो । यस्तै प्राथमिक उपचार तथा मेडिकल सम्बन्धी प्रशिक्षण र अभ्यास तथा शिक्षार्थीबाट ‘डेमोन्स्ट्रेशन’ गरिएको छ ।
गणले गत जेठमा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको सीमास्थल भएर बग्ने इन्द्रावती नदी ‘मनसुन–४’नामक विपद् प्रतिकार्य अभ्यास गरेको थियो । गणले गतसाल पनि ‘मनसुन–३’ नामाकरण गर्दै अभ्यासमा बगेको र डुबेको, पहिरोमा फसेको व्यक्तिको उद्धार प्रदर्शन गरेको थियो ।
समितिको यसअघिको बैठकमा मनसुन तथा विपद्बाट प्रभावित हुनसक्ने स्थान पहिचान गरी संकट अवस्थामा रहेका समुदाय एवं वस्तीहरुको पहिचान तथा र जोखिम न्यूनीकरणका उपायहरु अवलम्वन गर्ने, विपद् प्रतिकार्यका लागि अवश्यक पर्ने समग्रीको सम्बन्धित सबै निकायले तयारी अवस्थामा राख्ने, एम्बुलेन्स, दमकल अन्तर स्थानीय तह समन्वय गरी परिचालन गर्ने लगायतको निर्णय भएका थिए ।
यसैगरि विपद्को समयमा तत्काल सेवा दिनसक्ने गरी स्वास्थ्य संस्था, औषधी र जनशक्तिलाई तयारी अवस्थामा राख्ने, विकासका आयोजना सञ्चालन गर्दा र निर्माण सामाग्री उत्पादन गर्दा विपद् जोखिम न्युनिकरणका उपाय अवलम्बन गरी मापदण्डको पूर्णपालना गर्नुपर्ने पनि निर्णय भएका थिए ।
यस वर्षको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८१ तर्जुमाको लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएअनुसार जिल्लाका स्थानीय तहसँग मनसुनजन्य विपद्को प्रकृतिगत रुपमा सम्भावित स्थान र जोखिमको पूर्वानुमान विवरण मागिएको थियो ।
