After header

बागमती प्रदेशमा ११ बजे लामाले मृख्यमन्त्रीमा दाबी पेश

बागमतीमा कांग्रेस ७ र एमालेबीच ६ मन्त्रालय

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने गरी सहमति भएको छ ।सोमबार मन्त्रालय भागबण्डा नमिल्दा र एमाले भित्र मन्त्री छनौटको आन्तरिक समस्याले मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामाको दावी पेश गर्ने पूर्वनिर्धारित कार्यक्रम रोकिएको थियो ।

आज बिहान ११ बजे कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन् ।मंगलबार ११ बजे दाबी पेश गर्न जाने तयारी भएको नेता लामाले जानकारी दिए । उनका अनुसार दावी पेशका लागि सबै प्रक्रिया पूरा भइसकेको छ । काठमाडौंमा रहेका एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बिहानै हेटौंडा फर्किएर दाबी पेश गरिने बताए ।

कुन मन्त्रालय कसलाई ?

हेटौंडास्थित एक होटलमा आइतबार बेलुका कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँटका लागि बैठक बसेको थियो । उनीहरुबीच युवा तथा खेलकुद मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय ककसले लिने भन्नेमा सहमति जुटेको थिएन ।

कांग्रेसले एमालेलाई खेलकुद मन्त्रालय लिन प्रस्ताव गरेको थियो । एमालेले भने कृषि मन्त्रालय मागेको थियो । पछि एमालेले मागेअनुसार नै कृषि मन्त्रालय पाएको छ भने कांग्रेसले खेलकुद मन्त्रालय लिएको छ ।

‘उहाँहरुलाई कृषि मन्त्रालय नै दिएका छौं । मन्त्रालय भागबण्डामा सहमति भइसक्यो । समस्या छैन, सबै कुरा मिलिसक्यो,’ लामाले भने । १३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिने छ ।

कांग्रेसले मुख्यमन्त्रीसँगै यसअघि माओवादीले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालय लिएको सचेतक लम्सालले जानकारी दिए ।

लम्सालकै अनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ ।

एक पटक पढ्नुहोस