After header

आज श्रीकृष्ण जन्माष्टमी, काभ्रे जिल्लाभर रजस्वला नभएका हजारौँ कन्या पूजिँदै

काभ्रे । प्राचीन, ऐतिहासिकता बोकेको मध्यपहाडको एउटा सहर, बनेपा । काभ्रेपलाञ्चोको यस सहरमा १ सय २२ वर्षअघि सुरु गरिएको ‘कन्या–पूजा’ (रजस्वला नभएका दश बर्षमुनिका कन्यालाई)लाई को परम्पराले एउटा गतिलो सन्देश पनि दिएको छ, ‘छोराछोरी’ बराबरी, कन्या–पूजा बनेपा नगरको पूरानो बजारमा बर्षैपिच्छे कृष्ण जन्माष्टमी अर्थात आजैका दिन कन्या पुजा गरिदै छ ।

नेपालमा अन्य स्थानमा नगरिने यस पवित्र कार्यमा बनेपालीहरु वि.सं. १९५९ देखि जुट्दै आएका छन् । उही लगाव, उही तामझाम र उही रमझमका साथ । तर, ७० दशकका दुई बर्ष कोभिड–१९ को महामारीका कारण कन्या–पूजा प्रभावित बन्यो । २०७९ देखि पुनः निरन्तरता दिइएको पूजामा बनेपामा मात्रै आठ हजारभन्दा बढी कन्या पुजिँदै आएका र जिल्लाभर करीब दश हजार आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा कन्या पुजिने भएका छन् ।

सनातन कन्या–पूजा प्रबन्ध समितिमार्फत बनेपामा कन्यालार्ई पूज्दै आइएको हो । यस बर्ष आजका दिनमा कृष्ण जन्माष्टमीका परेको र तयारी सबै पुरा भएको समितिले जनाएको छ । रजस्वला नभएका तथा वेल–विवाह नगरिएका कन्यालाई पूज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता छ, यहाँ ।

यस मान्यताका साथ पछिल्ला बर्षदेखि काभ्रेपलाञ्चोकको विभिन्न बजार तथा बस्तीमा रजस्वला नभएका कन्या (विशेषगरी १० बर्ष मुनिका)लाई श्रीकृष्ण जन्माष्टमीको अवसरमा पुज्दै आइएको हो ।विशेषगरी जिल्लाको मुख्य शहर बनेपामा धुमधामका साथ कन्या–पूजा गरिन्छ । बनेपा बजार लगायत काभ्रे जिल्लाको साँगा, नाला, धनेश्वर,दोलाघाट, पनौती एवं जिल्लाका कृष्ण मन्दिर भएका ठाउँमा आज कन्या पुजा गरिदै छ । यो नगरमा यस पूजाको इतिहास १२२ बर्ष पूरानो हो ।

विना टिकट स्वतःस्फुर्त गरिने कन्या–पूजा कृष्ण जन्माष्टमीको दिनमा काभ्रेपलाञ्चोक तथा छिमेकका जिल्लाबाट बर्षेनी करिब आठदेखि दश हजार कन्या सहभागी हुन्छन् । बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पूरानो बजारहुँदै चारदोबाटोसम्म सडकको दायाँबाँया पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । १० बर्षमुनिका कन्यालाई पूज्दा उनीहरुको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाईसमेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ । यसकारण पनि कन्यालाई पूज्नेको ठूलो भीड हुने गर्दछ ।

आजको दिन कन्यालाई पूज्न काठमाडौ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेको समितिका सदस्य प्रकाश कायष्थले जानकारी दिए । कन्या–पूजामा समितिमार्फत १३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाई वितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टिका लगाईदिने प्रचलन पनि छ ।

पूजामा काभ्रेपलाञ्चोकको मात्र नभई छिमेकी सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर तथा काठमाडौका रजस्वला नभएका कन्याको पनि सहभागिता रहने गर्दछ । यस अवसरमा बनेपालीका घरमा आफन्तजनको आउने–जाने प्रक्रिया चलिरहन्छ । बनेपालीले विसं १९५९ देखि रजस्वला नभएका कन्याको पूजा गर्दै आएका हुन् । रजस्वला नभएका कन्याको पूजा गर्नाले उनीहरूमा सुःख, शान्ति, समृद्धि छाउने जनविश्वास रहेको स्थानीय लम्बोदर कायष्थले जानकारी दिए ।

अर्को किंवदन्तीअनुसार रजस्वला नभएका र वेल–विवाह नगरिएका कन्याहरूको लाममा देव–कन्या, नाग–कन्या, गन्धर्व–कन्या, किन्नर–कन्या र किच–कन्यासमेत मानव–कन्याका भेषमा आउने भएकोले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने तथा बनेपा सात गाउँलाई राक्षशबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीको रूपमा ‘कन्या’नै भएकाले कन्यालाई पुज्दै आइएको हो ।

कन्याहरूको स्वागत एवं सम्मानमा लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजासमेत आजको दिनमा बजाउँछन् ।बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तती मानिने भएकाले कुनै जाति या वर्गको आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिन्छ । बनेपा नपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या–पूजा सुरु हुने गर्दछ ।

ईतिहासविद् स्व.ज्ञानकाजी मानन्धरको बनेपाको ऐतिहासिक लेखअनुसार कुनै समय बनेपाका एक नेवार समूदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बुइगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए । सोहीलाई सुरुका बर्षमा प्रचलनस्वरुप नेवार समुदायका रजस्वला नभएका कन्या मात्रै पूजिदै आइएपनि केही समयपछि सबै जातजातिका कन्यालाईसमेत पूजामा सामेल गराइएको हो ।

बनेपामा हुने कन्या–पूजामा प्रति कन्या रु चार सय बराबरका सामाग्री उपलब्ध गराइन्छ । गत बर्ष पनि आठ हजार कन्याका लागि करिव रु ३ करोड खर्च भएको समितिका सचिव सुरकृष्ण वैद्यले बताए । दाताको सहयोगबाहेक अन्य खर्च समितिका पदाधिकारीले नै ब्यहोर्दै आएका उनले जानकारी दिए ।

बनेपामा बर्षमा दुईपटक कन्या–पूजाको आयोजना गरिन्छ । नेवाः कन्या–पूजाको नाममा टिकट दिएर अस्ती शनिबार कन्या–पूजा बनेपा नगरपालिका–८ दक्षुटोलमा सम्पन्न भएको छ । कृष्ण जन्माष्टमीको दुई दिनअघि शनिबार करिब करिव दुई हजार कन्या पुजिएको समितिले जनाएको छ ।

एक पटक पढ्नुहोस