After header

धुलिखेल नगरपालिकाको १६ औं अधिबेशन सम्पन्न

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका नगर सभाको सोह्रौं अधिबेशन सम्पन्न भएको छ । नगर सभाको सोह्रौं अधिवेशन ( विधेयक अधिवेशन ) प्रारम्भ भएको घोषण गदै नगर प्रमुख अशोक ब्याञ्जुले नगरपालिका भित्र भएको हालको अवस्थाको जानकारी गराएका थिए ।

बैठकमा वडाअध्यक्ष गोविन्द प्रसाद उपाध्यायले पेश गरेको नगरपालिकाको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०८१, वडा अध्यक्ष रोमीप्रसाद श्रेष्ठले पेश गरेको धुलिखेल नगरपालिकाको कर्मचारी व्यवस्थापन सम्बन्धी (विशेष) विधेयक, २०८१ का साथै वडा अध्यक्ष नारायण प्रसाद बडालले पेश गरेको आर्थिक ऐन तथा राजश्वका दररेट संसोधन गर्ने प्रस्ताव सभामा पेश गरेका थिए भने उक्त प्रस्ताव पारित गरिएका थियो ।

धुलिखेल नगरपालिकाको आर्थिक वर्ष २०८१÷२०८२ को बजेट तथा कार्यक्रम संशोधन गर्ने निर्णय भएको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । नगर सभाले नगरपालिकाको कर्मचारी व्यवस्थापन सम्बन्धि (विशेष) विधेयक,नगरपालिकाको जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०८१,आर्थिक ऐन तथा राजश्वका दररेट संसोधन गर्ने निर्णय गरेको छ । त्यस्तै नगर सभामा धुलिखेल, पनौती नगरपालिका, पनौती वडा नं १२ र धुलिखेल खानेपानी उपभोक्ता समिति बीच भएको सहमति सर्वसम्मतरुपमा अनुमोदन गरेको छ ।

त्यस्तै विपदबाट भएको क्षतिको जानकारी गराउँदै नगरलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय नगर सभाले पास गरेको छ । विशेष सभाको आयोजना गरी असोज १०–१२ मा परेको अविरल वर्षातका कारण नगरका विभिन्न वडामा भएको क्षति र त्यस पछि भएको खोज तथा उद्धार, उपचार र पुर्ननिर्माणका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्न पुर्व विनियोजन गरिएका ७५ वटा योजनाहरुको बजेट शंशोधन गर्ने सभाले निर्णय गरेको छ ।

नगर सभामा उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी लगायतले सभामा उठेका सदस्यहरुका सवालका बारेमा जवाफ दिएका थिए ।नगर सभाले पास गरेको विधेयक मध्ये महत्वपूर्ण विधेयकका रुपमा विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन विधेयक २०८१ रहेको छ । विभिन्न क्षेत्रका ब्यक्तिहरु सदस्य रहने गरी नगर प्रमुखको संयोजकत्वमा विपद ब्यवस्थापन समिति गठन गर्ने, वडा स्तरीय समिति गठन गर्ने, विपद ब्यवस्थापन सम्वन्धी विभिन्न कार्य गर्ने गरी ब्यवस्था गरिएको छ ।

कर्मचारी ब्यवस्थापन सम्वन्धी विशेष विधेयक २०८१ मा अविछिन्न रुपमा कार्यरत कर्मचारी २०६४ साल आश्विन मसान्त सम्म साविक स्थानीय निकायको स्वीकृत दरवन्दीमा अस्थायी÷करारमा नियुक्त भई कार्यरत रहेका कर्मचारीहरुको ब्यवस्थापन गर्नेछ । सभाले पुर्वाधार सम्वन्धी, खानेपानी, यातायात पुर्वाधार, भवन, आवास तथा शहरी विकास, वडा विशेष अनुदान, नगरस्तरीय भैपरी योजना, समपुरक तथा साझेदारी संघ र प्रदेशका योजनामा विनियोजन गरेको बजेटमा २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।

सभाले नगरपालिकाले धुलिखेल खानेपानी सरसफाई तथा उपभोक्ता समिति र पनौती वडा नम्वर १२ सँग अलग्गै सम्झौता गरेको थियो । जसमा ६ वटा बुँदा समावेश गरिएको थियो । धुलिखेलबासीलाई खानेपानीको ब्यवस्था मिलाउन पूर्वाधार निर्माण गर्ने र हाललाई अस्थायी प्रकृतिको कार्य गरेर तत्कालिन खानेपानीको समस्या समाधान गर्न कार्य गर्ने, पनौती १२ नम्वर वडा कार्यालय भित्रका बासिन्दालाई २०८२ को स्वास्थ्य विमा गरिदिने र २०८३ देखि धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता

समितिबाट ६० प्रतिशत र सम्वन्धित जनताबाट ४० प्रतिशत बीमा खर्च ब्यहोर्ने गरी स्वास्थ्य बीमा गर्ने, काठमाडौ विश्वविद्यालयमा पनौती नगरपालिका वडा नम्वर १२ भूमिडाँडाका बासिन्दालाई योग्यता (मेरिट) मा आधारित भै विश्वविद्यालयमा अध्ययन गर्न २ जना (१ जना स्नातक र १ जना स्नातकोत्तर) लाई छात्रबृत्ति उपलब्ध गराउने, धुलिखेल अस्पतालमा विपन्न र सिमान्तकृतलाई उपचार खर्च ब्यहोर्न नसक्ने भएमा छुटका लागि धुलिखेल अस्पतालसँग पहल गर्ने, धुलिखेल खानेपानी उपभोक्ता समितिबाट पनौती १२ भूमेडाँडाका लागि उपलब्ध गराउँदै आएको आर्थिक अनुदानमा थप २ लाख रुपैया उपलब्ध गराउने र २०६७ सालमा भएको सम्झौता दुबै पक्षले पालना गर्ने सहमति २०८१ मसिंर ६ गते भएको थियो ।

३ करोड ५१ लाख रुपैया बराबरको पाईप लाईन र संरचनामा क्षति पुगेको तथ्यांक छ । एकीकृत खानेपानी तथा अन्य श्रोतहरुको ब्यवस्थापनका लागि धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पनौती १२ नम्वर वडा कार्यालय र धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समिति बीच २०८१ मसिंर १४ गते सम्झौता भएको थियो ।

एक पटक पढ्नुहोस