After header

दोस्रो जन्मोत्सव पार्क काभ्रेको धुलिखेलमा शुभारम्भ

काभ्रे । ‘जन्मदिनलाई सत्कर्मसँग जोडौँ’ भन्ने अभियानमा रुपमा सञ्चालन गर्न थालिएको दोस्रो जन्मोत्सव पार्क आज काभ्रेपलाञ्चोकको धुलिखेलमा शुभारम्भ गरिएको छ । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापा, शसस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल लगायतले आ–आफ्नो नामसहितको ट्रिगार्डमा एकैसाथ बृक्षारोपण गरी पार्कको शुभारम्भ गरिएको हो ।

सञ्चारकर्मी आबद्ध तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा अभियानका रुपमा दोस्रो पार्क धुलिखेल नगरपालिका–१० शारदाबतासेमा स्थापित गरिएको छ । यसअघि रौतहटको चन्द्रपुर–९ सिन्दुरेघारी मर्दर चाँदीखोलामा पार्क स्थापना गरिएको आयोजक संस्थाका अध्यक्ष गोविन्द चौलागाईंले बताए ।

चौलागाईका अनुसार जन्मदिनलाई सामाजिक उत्तरदायित्व र वातावरणीय सचेतनासँग जोड्ने तथा सामाजिक सेवा र वातावरण संरक्षणको सन्देश फैलाउने उद्देश्यले जन्मोत्सव पार्कको अभियान सुरु गरिएको हो । नेपाल पत्रकार महासंघका निवर्तमान सचिव तथा अभियानका अवधारणाकार गोविन्दप्रसाद चौलागाईंले अभियानको बारेमा स्वागत मन्तव्य दिंदै हरेक जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्ने अभियानमा देशभर सघन सहयोग प्राप्त भइरहेको बताए ।

धुलिखेल वडा नं. १० का वडा सदस्य अशोक कुमार शाहको सोहि दिन परेको जन्मदिनको अवसरमा शुभ जन्मोत्सव पार्कमा वृक्षरोपण गरेका थिए । त्यस्तै, नुवाकोट जिल्ला संयोजक एलिजा लामिछानेले समेत आफ्नो जन्मदिनको अवसरमा वृक्ष रोप्दै अभियानप्रति ऐक्यवद्धता जनाईन् । दुवै व्यक्तित्वलाई प्रमुख अतिथि एकनारायण अर्यालले विरुवा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा अर्यालले यस्ता जागरणमुलक अभियानले सामाजिक रुपान्तरणमा ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गर्दै पर्यावरिणीय क्षेत्रमा उल्लेख्य भूमिका निभाउने उनको भनाई थियो । “यो अभियानले जलवायू परिवर्तनले पानीका मुहान सुक्ने र जमिन उजाडिने समस्यालाई केही सहयोग गर्ने विश्वास लिएको छु उनले भने ।

सो अवसरमा श्रम तथा रोजगार मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू तथा उपप्रमुख निराजन जङ्गम, सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक सुमन दाहाल, बाग्मती प्रदेश बन मन्त्रालयका सचिव डा केदार बराल, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्याल, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, वडा धुलिखेल–१० का वडाध्यक्ष गोविन्द भण्डारीलगायत विभिन्न तहका सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कलाकार तथा सामाजिक अभियन्ता एवं सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा कार्यालयद्वारा जन्मोत्सव पार्कमा थप भौतिक संरचना निर्माण गर्न तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मुख्य सचिव आर्याल र प्रदेश मन्त्रालयका सचिव बराललाई हस्तान्तरण गरिएको छ । यस अघि उक्त पार्क हनुमान पार्कका नामबाट परिचित हुँदै आएको थियो । सो क्रममा पार्क तथा त्यसआसपासको क्षेत्रमा विभिन्न जातका एक हजार विरुवा रोपिएको छ ।

एक पटक पढ्नुहोस