काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ’स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख तथा खोप समन्वय समितिका संयोजक दिपक गौतमले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् । उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख गौतमले धुलिखेल नगरपालिका कार्यवाहक नगर प्रमुख निराजन जंगमलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा कार्यवाहक नगर प्रमुख जंगमले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले.खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताए ।
सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले जानकारी दिए । उनका अनुसार यस वर्ष धुलिखेल नगरपालिकाभित्रका ६१४ जना बालबालिका पूर्णखोप सुनिश्चित भएका छन् । खोप कार्यक्रममार्फत बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसारका सबै खोप उपलब्ध गराई पूर्णखोप सुनिश्चित गरिएको उनको भनाई थियो ।

कार्यक्रममा वक्ताहरूले पूर्णखोप सुनिश्चितता कायम राख्दै आगामी वर्षहरूमा पनि खोपबाट वञ्चित हुने अवस्था सिर्जना हुन नदिन सबै सरोकारवाला निकाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा अभिभावकको निरन्तर सहकार्य आवश्यक रहेको बताएका थिए ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणासँगै धुलिखेल नगरपालिका बालबालिकाको स्वास्थ्य सुरक्षाप्रति प्रतिबद्ध रहेको सन्देश दिएको छ । यससँगै धुलिखेलमा वातानुकूलित खोप केन्द्र पनि संचालनमा ल्याइएको छ ।

यस्तो खोप केन्द्र संचालनमा ल्याउने यो पालिका दोस्रो हो । यसअघि मण्डनदेउपुरमा वातानुकूलित खोप केन्द्र संचालनमा ल्याइएको थियो । जिल्लाको ११औँ पूर्णखोप सुनिश्चितता पालिकाको रूपमा मंगलबार धुलिखेल नगरपालिका घोषणा भएको छ ।
